गुल्मी पहिरो अपडेट : ज्यान गुमाउनेकाे संख्या ११ पुग्यो

गुल्मी, मंगलबार साउन ७ गते । गुल्मीमा पहिरोमा पुरिएर ११ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता छन् । जिल्लाको सत्यावती गाउँपालिकाका २ वटा वडामा पहिरोले घर पुरिदा ११ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।

सत्यावती गाउँपालिका वडा नम्बर ४ को लिम्घामा एकै घरका नौं जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा ६५ वर्षीय छल्ली बिक, २८ पम्फा १२ वर्षीय अंजली बिक, १० वर्षीय हेमन्त बिक, रुपा बिक, सिवानी बिक, निर्मला बिक, हिमान्सु बिक, सन्दीप बिक रहेका छन् ।

त्यस्तै सोही गाउँपालिका ३ को ठूलोलुम्पेक कसिन डाँडा पहिरोमा पुरिएर ३२ वर्षीया तिलकुमारी तरामु, नौं वर्षीय दर्शन तरामुको मृत्यु भएको हो । उनीहरु आमा छोरा हुन् ।

सोही वडामा रुद्र बिकको घर पहिरोले बगाएको छ । पहिरोले घर बगाउँदा ४० वर्षीय माया बिक र १६ वर्षीय गबि बिक बेपत्ता भएका छन् । अरु २ जना बेपत्ताको नाम थर खुल्न सकेको छैन् ।

पहिरोमा पुरिएर २ जना घाइते भएका छन् । सत्यवाती ४ का १० वर्षीय करिश्मा तरामु र १३ वर्षीय धनी तरामु घाइते भएको प्रहरीले जनाएका छन् । गएरातिदेखि परेको अबिरल वर्षातले घरमाथिबाट पहिरो जाँदा घरमा सुतिरहेकाहरुको मृत्यु भएको हो ।

उद्धारको लागि जिल्लाबाट प्रहरी नायव उपरीक्षक मिनबहादुर घले, सशस्त्र प्रहरी नायव उपरीक्षक दिनेश रायमाझी सहितको टोली घटना स्थल पुगेर उद्धार कार्य सुरु गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । थप राहत र उद्धारको लागि जिल्ला बिपद व्यवस्थापन समिति तयारी अबस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी पौडेले बताए। ठूलो पहरो भएकाले मृत्यु हुनेहरुको संख्या बृद्धि हुनसक्ने बताइएको छ ।

घटनास्थल जिल्ला सदरमुकाम तम्घासबाट पूर्वतर्फ पर्दछ । घटनास्थल पुग्न तीन घण्टा बढी समय लाग्छ । पाल्पाबाट नजिक पर्छ । नागरिक खबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार