दाङ । दाङको टरिगाउँ एयरपोर्ट विस्तारका लागि ‘एक रुपैयाँ’ संकलन अभियान सुरु गरिएको छ । तुलसीपुर उद्योग वाणिज्य संघले टरिगाउँ विमानस्थलको स्तरवृद्धिका लागि खुत्रुके अभियान स्वरुप ‘एक रुपैयाँ’ संकलन अभियान सुरु गरेको हो ।
सम्बन्धित निकायलाई पटकपटक अनुरोध गर्दा पनि बेवास्ता गरेकाले दबाब दिन अभियानको सुरुवात गरेको संघका अध्यक्ष रामप्रसाद चालिसेले बताउनुभयो । टरिगाउ विमानस्थलको स्तरोन्नतिका लागि आवश्यक कदम चाल्न प्रदेश र केन्द्र सरकारसँग आग्रह गरिएको छ । अध्यक्ष चालिसेले ५१ हजारको चेक हस्तान्तरण गरेर आफैले अभियानको सुरुवातसमेत गरे ।
अभियानमा सहयोग गर्न राष्ट्रिय वाणिज्य बैंकमा ‘तुलसीपुर उद्योग बाणिज्य संघ एयरपोर्ट’ खाता नम्बर ४१६०१०००००००७००६ मा रकम जम्मा गर्न सकिने उहाँले बताउनुभयो ।’एक–एक रुपैयाँ संकलन गरेर भए पनि एरपोर्ट विस्तार गरौ भन्नेमा लागेका छौँ,’ उहाँले भन्नुभयो, ‘यो पूर्ण सफल बनाउँछौँ ।’अहिले नेपाल एरलाइन्सको जहाजले हप्तामा पाँच दिन उडान भर्दै आएको छ । संघको एक रुपैयाँ अभियानमा राष्ट्रियसभा सदस्य कोमल वलीले ५ सय रुपैयाँ सहयोग गर्नुभएको छ । nagarikkhabar