२ हजार ३ सय विद्यालयमा एकैसाथ ‘आइसिटी ल्याब’ स्थापना गर्ने तयारी छ : शिक्षामन्त्री पौडेल

काठमाडौँ । सरकारले दुई हजार ३ सय विद्यालयहरुमा एकैसाथ ‘आइसिटी ल्याब’ स्थापना गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालयहरूको शैक्षिक सुधारका लागि २३ सयवटा विद्यालयहरुमा आइसिटी ल्याब तत्काल बनाउने निर्णय गरिएको जानकारी दिनुभएको हो।

शिक्षा पत्रकार समूहले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले ३ वर्षभित्र देशभरका सबै विद्यालयहरुमा सो ल्याब स्थापना गर्ने सरकारको योजना रहेको पनि स्पष्ट पार्नुभयो । मन्त्री पौडेलले सार्वजनिक विद्यालयहरूको भौतिक पूर्वाधारमा कुनै समस्या नहोस् भन्नेमा सरकार सचेत रहेको बताउनुभयो ।

उहाँले सार्वजनिक विद्यालयहरूको शैक्षिक सुधारका लागि सम्बन्धित सबै निकायलाई सचेत भएर काम गर्न पनि निर्देशन दिनुभयो । मन्त्री पौडेलले भन्नुभयो, ‘२३ सयवटा विद्यालयहरुमा आइसिटी ल्याब तत्काल बनाउने निर्णय गरेका छौं । यसको प्रक्रिया छिट्टै अघि बढ्छ । क्रमशः ३ वर्षभित्र देशभरका सबै सार्वजनिक विद्यालयहरुमा त्यसलाई निर्माण गरिनेछ ।

सार्वजनिक शिक्षालाई सुधार गर्नका लागि भौतिक पूर्वाधारको अभाव भएका ठाउँमा व्यवस्था गर्ने कामलाई पनि सरकारले सुरु गरेको छ । तर त्यसका लागि सरोकारवाला निकायहरुले सक्दो सहयोग गर्नुपर्ने हुन्छ ।’ मन्त्री पौडेलले सार्वजनिक विद्यालयहरूको शैक्षिक गुणस्तर खस्कन नदिने गरी १८ हजार शिक्षकहरुको नयाँ दरबन्दीको व्यवस्था गर्नुपरेको बताउनुभयो ।रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार