अब एमाले अवरोध छोडेर संसदीय प्रक्रियामा आउँछ : कानुन मन्त्री

काठमाडौं । कानुन मन्त्री दिलेन्द्रप्रसाद बडुले प्रमुख प्रतिपक्षी नेकपा (एमाले) अब संसदीय प्रक्रियामा आउने बताउनुभएको छ । आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि छानबिन गर्न महाअभियोग सिफारिस समिति बनेपछि कानुन मन्त्री बडुले समितिमा एमालेले पनि सदस्य पठाएर संसदीय प्रक्रिया स्वीकारेको बताउनुभयो ।

‘उहाँहरूले नै नाम दिएर महाअभियोग सिफारिस समितिमा एमाले सांसद सदस्य भएका छन् । यसले उहाँहरू अब संसद अवरोध छोडेर प्रक्रियामा आउनुहुन्छ भन्ने म ठान्छु,’ बडुले भन्नुभयो । आइतबारको बैठकमा पनि एमाले सांसदहरूले अवरोध गरेका थिए। महाअभियोग सिफारिस समितिमा राख्न एमालेले आफ्ना चार जना सांसदको नाम सिफारिस गरेको थियो ।

एमालेले लगातार संसद अवरोध गरिरहँदा यसको औचित्यतामाथि जनताबाट नै प्रश्न आउने अवस्था बनेको बताउनुभयो । एमालेले महिनौंदेखि संसद अवरोध गरिरहँदा यसको संसदको औचित्यमाथि जनताबाट प्रश्न उठ्ने अवस्था बनेकाले अर्ली इलेक्सनको कुरा उठेको हो,’ मन्त्री बडुले भन्नुभयो,‘एमाले संसदीय प्रक्रियामा आयो भने संसद पूर्णकालसम्म नै चल्छ।’

संसद बैठकपछि प्रतिक्रिया दिँदै माओवादी केन्द्रका सांसद वर्षमान पुनले पनि राजनीतिक रूपमा अर्ली इलेक्सनको कुरा आए पनि त्यो अहिले सम्भव नभएको बताउनुभयो । हाम्रोमा चुनाव हुने मौसम भनेको चैतदेखि जेठ र कात्तिक, मंसिर हो। वैशाखमा स्थानीय तहकै चुनाव छ,’ पुनले भन्नुभयो ,‘त्यसपछि लगत्तै अर्को चुनाव गर्न मौसमले पनि साथ दिँदैन।’ सेतोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार