काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद विघटन गरेर अर्ली इलेक्सन गराउन प्रधानमन्त्री शेरबहादुर देउवा तयार नभएको बताउनुभएको छ ।
सोमबार बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते नै हुने बताउनुभयो ।
चार दलीय सत्ता गठबन्धनका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले एमालेले संसद चल्न नदिएको बताउँदै विघटन गरेर अर्ली इलेक्सनमा जान गठबन्धनमा प्रस्ताव गरेका थिए । समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि एमालेले संसद चल्न नदिएर दुस्ख दिएको भन्दै सार्वजनिक रुपमै विघटन गरेर निर्वाचनमा जानुपर्ने बताउँदै आएका छन् ।
‘वैशाख ३० गतेका लागि घोषणा गरिएको स्थानीय निर्वाचन सर्ने सम्भावना छैन,’ प्रचण्डले भन्नुभयो, ‘चल्न त प्रतिनिधिसभा विघटनको चर्चा चलेको छ तर, परिस्थिति त्यता गइसकेको छैन।’ स्थानीय निर्वाचन नसर्ने भएकोले अब व्यापक तयारी गरेर जान अध्यक्ष दाहाले नेताहरुलाई निर्देशन दिएका छन् । नागरिक खबरबाट