काठमाडौं । राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णकुमारी पौडेल खतिवडाले महिलाका लागि मात्रै राज्य किन गरिब हुन्छ भनेर प्रश्न गर्नुभएको छ ।नेपाली महिलाको क्षेत्रमा काम गर्न बनाइएको संवैधानिक अंग (राष्ट्रिय महिला आयोग) २० वर्षको भइसक्दा पनि आफ्नै कार्यालय नभएको भन्दै उहाँले यो प्रश्न गर्नुभएको हो ।
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘राष्ट्रिय महिला आयोग स्थापना भएको १९ वर्ष पूरा भई २० वर्ष लाग्यो तर अहिलेसम्म राष्ट्रिय महिला आयोगको केन्द्रीय कार्यालय नै छैन । महिलाका लागि नै किन गरिब हुन्छ राज्य सबैका लागि किन हुँदैन रु’
स्थानीय तहमा सबै कार्यालय हुँदा महिला कार्यालयहरु हटाइनुले पनि धेरै समस्या थपेको उहाँले बताउनुभयो । उहाँले राष्ट्रिय महिला आयोगको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्लामा सञ्जाल बिस्तार गर्ने दृढ इच्छाशक्तिका साथ आफूहरुले काम गरिरहेको बताउनुभयो । यसअघिका नेतृत्वहरुले महिला हकहित सम्बन्धी निर्देशिका बनाएर काम नगर्नुले पनि महिला आयोग कति कमजोर छ भन्ने कुरा स्पष्ट हुने उहाँले बताउनुभयो।
अहिले आवश्यक निर्देशिकाहरु बनाएर महिला हकहितका कामलाई तीव्रता दिइएको बताउँदै उहाँले भन्नुभयो, ‘राष्ट्रिय महिला आयोगले रफ्तारमा काम गर्दैछ । हामीलाई काम गर्न कानुनी कुराको पनि समस्या छ । स्थानीय निकायलाई मजबुत बनाउने भनेको तत्काल उद्धारका लागि कि त पुरानो महिला विकास शाखा पहिलाको जस्ताको त्यस्तै राख्नुपर्छ । कि त राष्ट्रिय महिला आयोग स्थानीय निकायमा सञ्जाल बिस्तार गरेर न्याय दिनुपर्छ ।’उहाँले स्थानीय तहमा भएको न्यायिक समितिलाई बलियो बनाउनु पर्नेमा जोड दिनुभयो। अनलाइनखबरबाट