निर्माणाधीन पक्कि पुल बाढीले बगायो

सिन्धुली । सिन्धुलीको ग्वाङ खोलामा निर्माणाधीन एक पक्कि पुल बाढीले बगाएको छ। आइतबार राती परेको अविरल वर्षाका कारण सिन्धुलीको कमलामाई नगरपालिका ६ र ५ जोड्ने गरी ग्वाङ खोलामा निर्माणाधीन रहेको पक्कि पुल बगाएको हो।

अविरल वर्षासँगै खोलामा आएको बाढी पुल निर्माणस्थलको अवरोधका कारण बाढी निकास हुन नसकेपछि पुलनै बगाएको थियो । बाढी निकास नहुँदा खोला छेउका केही घरहरु समेत डुबान भएको थियो। बाढीले पुल भत्काएपछि बस्ती डुबान हुनबाट बचेको स्थानीयले जनाएका छन् । ८० प्रतिशत निर्माण सम्पन्न भइसकेको सिन्धुलीको कमलामाई नगरपालिका ६ को दुई नम्बर बजारबाट वडा नम्बर पाँच कारागारसम्म जोड्ने गरी ग्वाङ खोलामा निर्माणाधीन रहेको पुल वर्षासँगै आएको बाढीले बगाएको हो।

बागमती प्रदेश सरकारको पाँच करोड ४१ लाख ९५ हजार सात सय ६५ रुपैयाँ लागतमा उक्त पुल निर्माणाधीन रहेको थियो। ठेकेदारको ढिलासुस्तीले समयमै सक्नुपर्ने काम नसकिएपछि म्याद थपेरै पुल निर्माण भइरहेको भएपनि पुल बगाएपछि पुनर्निर्माण अन्यौल भएको छ। ‘हामी वैशाखसम्म सक्ने गरी काम गरिहेका थियौं,’ पुल निर्माण कम्पनी देवीरमण कन्ट्रक्सन प्रालीका प्रतिनिधि पेशलराज काफ्लले भन्नुभयो, ‘तर अविरल वर्षासँगैको बाढीले बगाएर क्षतविक्षत भएको छ।’

पुलको काम ८० प्रतिशत सम्पन्न भइसकेको भएपनि बाढीले बगाएर क्षति भएको उहाँले बताउनुभयो। २०७७ साल भदौ २६ गते सम्झौता भई निर्माण सुरु भएको पुल २०७८ साल भदौ २५ गते निर्माण सम्पन्न गर्नुपर्ने भएपनि ठेकेदारको ढिलासुस्तीले पुनः म्याद थप गरी निर्माणाधीन रहेको थियो। ‘ठेकेदारले समयमै काम सम्पन्न गरेको भए यस्तो अवस्था आउँदैन थियो,’स्थानीय राजन भण्डारीले भन्नुभयो, ‘ह्युमपाइप तल राखेर काम नगर्दा बाढी थुनिएर बगाएको देखिन्छ ।’ nagariknews.nagariknetworkबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार