![](https://myagdinews.com/wp-content/uploads/2021/03/maobadi.jpg)
काठमाडौँ । पाँच दलीय गठबन्धनमा महानगर र उपमहानगरपालिकाका बारेमा नेतृत्व टुंग्याउन नसकिरहेको बेला नेकपा (माओवादी केन्द्र)को भागमा परेको दुई उपमहानगरपालिकामा उम्मेदवार टुंगो लगाइसकेको छ।
भरतपुर महानगरपालिकाको मेयरमा अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ पुत्री रेणु दाहाल पुनः दोहोरिने चर्चा चलिरहेको बेला माओवादीले आफ्नो भागमा परेको बारास्थित जितपुर–सिमरा र दाङस्थित घोराही उपमहानगरपालिकाका लागि मेयरको उम्मेदवार टुंगो लगाएको हो ।
जितपुर सिमरामा राजन पौडेल र घोराहीमा हेमराज शर्मालाई मेयरका लागि सर्वसम्मत रुपमा सिफारिस गरेर केन्द्रमा नाम पठाएको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिनुभयो।
जिल्ला हुँदै प्रदेशबाट सिफारिस भएका नाम केन्द्रीय कार्यालयको विस्तारित बैठकले टुंगो लगाउने ढकालले जानकारी दिनुभएको छ । यसअघि जितपुर–सिमराबाट मेयरका उम्मेदवार रहेका पौडेललाई पुनः मेयरका लागि सिफारिस गरेको हो भने घोराहीमा मेयरका अर्का आकांक्षी जीवन गौतमले पार्टी परित्याग गरेपछि शर्मा स्वतः सर्वसम्मत सिफारिस हुनुभएको हो ।
गत स्थानिय तहको निर्वाचनमा सिमरामा तेस्रो स्थानमा रहेको माओवादी घोराहीमा भने दोस्रो स्थानमा रहन सफल भएको थियो । पाँच दलीय गठबन्धनका कारण दुवै स्थानमा विजयी हासिल गर्न सक्ने माओवादीको विश्वास छ । माओवादीको निर्णयअनुसार महानगर र उपमहानगरको मेयर र उपमेयरको निर्णय केन्द्रीय कार्यालयले गर्ने छ । भरतपुर महानगरपालिकामा प्रचण्डपुत्री स्वतः मेयरका दावेदार हुन् । नागरिक खबरबाट