काठमाडौं । महिला पत्रकारहरूको सञ्जाल सञ्चारिका समूहकी पूर्व अध्यक्ष निर्मला शर्माले केशव स्थापितमाथि लागेको यौन दुर्व्यवहारको आरोपलाई चुनावी फण्डामात्र नबनाउन आग्रह गर्नुभएको छ । शर्माले यसका लागि कानुनी उपचारमा जानु पर्ने सुझावसमेत दिनुभएको हो।
सामाजिक सञ्जालमा शर्माले लेख्नुभएको छ, ‘कानुनी उपचारमा गएको भए यति बेला सम्म फैसला पनि भइसक्थ्यो । दोषीले कानुनी रूपमा सजाय पनि भोगी सकेका हुन्थे । तर अझ पनि ढिला भएको छैन । कानुनी प्रक्रियामा जाऊँ । हामी साथमा नै छौँ तर यसलाई चुनावी एजेण्डा मात्र नबनाऊ ।’चुनावमा अनेक फण्डा निकालेर एक उम्मेदवारले अर्को उम्मेदवार माथि आरोप प्रत्यारोप गर्नु पनि आचार संहिता विपरीत हुने उहाँको भनाइ छ । साथै जस्तो सुकै आरोप लगाए पनि धैर्यतासाथ जवाफ दिन उहाँले सुझाउनुभएको छ।
‘आरोप लगाए पछि दोषी भए कारबाही भोग्न तयार हुन्छु भन्न सक्नु पर्छ । कसैलाई अपमानित हुने शब्द बोल्न भएन आवेगमा आएर उम्मेदवारले होस या प्रश्न कर्ताले,’ उहाँले भन्नुभएको छ, ‘प्रश्नकर्ता महिला माथि केशव स्थापितले बोलेका शब्दमा मेरो पनि आपत्ति छ । उहाँले माफी माग्नु पर्छ ।’ उहाँले थप्नुभएको छ, ‘तर यस्ता चुनावी बहसमा आरोप माथि भन्दा पनि उम्मेदवारलाई उसका प्रतिबद्धता सोधिन्छ, बहसमा विषयगत प्रश्न नै सोधिन्छ । यसमा निर्वाचन आयोगको ध्यान जाओस् ।आचारसंहिताको पालना उम्मेदवारले पनि गरौँ, सबैले गरौँ !’ रातोपाटीबाट