मकवानपुर । नेकपा एकीकृत समाजवादीको मकवानपुर अध्यक्षबाट राजीनामा दिएका श्रीधर पोखरेल नेकपा एमालेमा फर्किनुभएको छ । पार्टी विधि र पद्धति अनुसार नचलेको भन्दै पोखरेलले एकीकृत समाजवादी पार्टी परित्याग गर्नुभएको थियो ।
उहाँले बुधबार हेटौंडामा पत्रकार सम्मेलन गरि आफु साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्यागको घोषणा गर्नुभएको थियो। एकीकृत समाजवादी छोडे लगत्तै उहाँ बिहिबार एमाले प्रवेश गर्नुभएको छ । बुधबार काठमाडौंमा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख अतिथि रहेको पार्टी प्रवेश कार्यक्रममा उहाँएमालेमा प्रवेश गर्नुभएको थियो ।
केही व्यक्तिको स्वार्थ पुरा गर्न कार्यकर्ताको समस्यालाई नजर अन्दाज गर्दै प्राइभेट कम्पनीमा पार्टी रुपान्तरण गरेको आरोप लगाउँदै उहाँले एकीकृत समाजवादी छाड्नुभएको थियो । उहाँले पार्टीभित्र जबर्जस्त ढंगबाट हुर्कन खोजिएको व्यक्तिवादका कारण आफूले साधारण सदस्यसमेत नरहने गरि राजीनामा दिएको उल्लेख गर्नुभएको थियो । आगामी निर्वाचनमा गठबन्धनको एकीकृत समाजवादी पार्टीको तर्फबाट हेटौंडा उपमहानगरपालिकाको मेयर पदका आकांक्षी समेत रहेका पोखरेल टिकट नपाएपछि पार्टी छोड्नुभएको हो ।
हेटौंडाको मेयर पदका लागि उहाँको नाम सिफारिसमा पनि परेको थियो । उहाँसँगै हेटौंडाको मेयर पदमा एकीकृत समाजवादीबाट निवर्तमान उपमेयर मीना कुमारी लामाको पनि नाम सिफारिसमा परेको थियो । गठबन्धनमा भागबण्डा गर्दा हेटौंडा एकीकृत समाजवादीको भागमा परेपछि मेयर पदमा लामाको नाममा टिकट आएको थियो । पोखरेलसँगै नेकपा एकीकृत समाजवादी मकवानपुर जिल्ला कमिटी सचिवालय सदस्यहरु उत्तम शर्मा न्यौपाने, देवेन्द्रप्रसाद कोइराला लगायत पनि नेकपा एमाले प्रवेश गर्नुभएको छ । रातोपाटीबाट