![](https://myagdinews.com/wp-content/uploads/2021/11/madav-nepal.jpg)
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले कुहिएपछि नयाँ पार्टी नेकपा एकीकृत समाजवादी गठन गरेको बताउनुभएको छ । शुक्रबार पार्टी कार्यालयमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमाले कुहिएर दक्षिणपन्थी भासमा भासिएकाले कम्युनिस्ट आन्दोलनलाई जोगाउन नयाँ पार्टी गठन गरेको दावी समेत गर्नुभयो ।
‘जुन पुरानो पार्टी हामीले बनायौ त्यो कुहिने अवस्थामा पुग्यो, दक्षिणपन्थी भासमा भासिने, व्यक्तिवादको दलदलमा फस्ने कम्युनिस्ट आदर्शलाई परित्याग गर्ने स्थितिमा पुगिसकेपछि कम्युनिस्ट आन्दोलनलाई जोगाउ समाजवादी पार्टी निर्माण गर्यौ’, अध्यक्ष नेपालको भनाइ छ । उहाँले वितेको आठ महिनाको अवधिमा धेरै सफलता हासिल गरेको भन्दै नयाँ पार्टी भएपनि ६ सालमा बनेको पार्टीको यो निरन्तरता भएको पनि दावी गर्नुभयो ।
‘पुष्पलालको विरासत हामीले बोकेका छौ’, अध्यक्ष नेपालको भनाइ छ । उहाँले नेपालको उर्वर भूमिमा कम्युनिस्ट आन्दोलनको बीउ फस्टाउँदै गएको पनि बताउनुभयो । अध्यक्ष नेपालले कम्युनिस्ट आन्दोलनका योद्धाहरु आफ्नो पार्टीमा एकीकृत हुने क्रम जारी रहेको भन्दै कम्युनिस्ट आन्दोलनले फल दिँदै गएको पनि बताउनुभयो । ‘ कम्युनिष्ट आन्दोलनले फल दिँदै गएको छ र त्यो फल जनताले उपभोग पनि गर्दै गएका छन्’अध्यक्ष नेपालको भनाइ छ ।
उहाँले २०५१ सालमा ठुलो पार्टी बन्ने अवसर पाएपछि जनताका पीरमार्कालाई केन्द्रविन्दुमा राखेर काम सुरु गरेको भन्दै अहिले पनि सुरुवात राम्रो रहेको बताउनुभयो । ‘वैशाख ३० गते चुनाव हुन गइरहेको छ । यो चुनावमा उम्मेदवार मनोनयन गर्ने क्रममा हाम्रो पार्टीका दुईजना अध्यक्ष, एकजना उपाध्यक्षसहित झण्डै ३५ जना निर्विरोध भइसक्नुभएको छ’, अध्यक्ष नेपालको भनाइ छ । नेता नेपालले कार्यक्रममा बहिर्गमित सेना पार्टीका अध्यक्ष अर्जुन बुढाथोकी सहितका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउनुभएको थियो । रातोपाटीबाट