उदयपुर । उदयपुर मा अघिल्लो राति कार दुर्घटनामा पर्दा एकजनाको ज्यान गएको छ भने ४ जना घाईते भएका छन्। मदन भण्डारी लोकमार्ग अन्तर्गत जिल्लाको उदयपुरगढी गाउँपालिका ६ नेपालटारस्थित बैजनाथ खोलाको पक्की पुलमा राति पौने १० बजे बा २५ च ७८१९ नं. को कार आफै अनियन्त्रित भई दुर्घटनामा परेको थियो।
दुर्घटनामा परी मोरङ बिराटनगर महानगरपालिका ५ चाँदनीचोकका ३४ वर्षीय देबेन्द्र चापागाई (डेबिट) को घट्नास्थलमै निधन भएको नेपालटार प्रहरी चौकीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सडकभन्दा १५ मिटर तल खसेर दुर्घटनामा परेको कारमा सवार ५ जनालाई उद्धार गरी उपचारार्थ जिल्ल अस्पताल ल्याउँदा राति ११ः०० बजे चिकित्सकले चापागाईको मृत्यु भईसकेको घोषणा गरेको प्रहरी भनाई छ।
वीरगञ्जबाट बिराटनगरतर्फ आउँदै गरेको कारमा सवार चालक बिराटनगर महानगरपालिका ५ चाँदनी चोककै ३१ वर्षीय विशाल राय, सोही ठाउँका २३ वर्षीय सुजन खतिवडा, २७ वर्षीय सागर घिमिरे र ३५ वर्षीय सुरज पौडेल घाईते भएका छन्। घाईतेहरु सबैलाई जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि बिराटनगर न्युरो पठाइएको प्रहरीले जनाएको छ।
रायको टाउको र निधारमा चोट लागेको छ भने खतिवडाको निधार र दाहिने हातमा, घिमिरेको छाति दुखेको तथा पौडेलको दाहिने आँखामा चोट लागेको प्रहरीले जनाएको छ। दुर्घटनामा परेको कार घटनास्थलमै रहेको र मृतकको शव जिल्ला अस्पतालको पोष्टमार्टमगृहमा राखिएको छ। घट्नाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सन्तोष आचार्यले बताउनुभयो। nagariknews.nagariknetworkबाट