काठमाडौँ । काठमाडौं महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयर उम्मेदवार भई पराजित हुनुभएकी नेपाली कांग्रेसकी नेता सिर्जना सिंहले मेयर, उपमेयर र वडाध्यक्षलगायत निर्वाचित जनप्रतिनिधिहरूलाई बधाई दिनुभएको छ ।
मेयर, उपमेयरलगायत निर्वाचित जनप्रतिनिधिको सफल कार्यकालको शुभकामनासमेत उहाँले दिनुभएको छ । बिहीबार बेलुकी निर्वाचन अधिकृत कार्यालयले मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह र उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल निर्वाचित भएको औपचारिक घोषणा गरेलगत्तै सिंहले बधाई दिनुभएको हो।
स्वतन्त्र उम्मेदवार शाह ६१ हजार सात सय ६७ मतसहित मेयर निर्वाचित हुनुभएको हो। कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले ३८ हजार तीन सय ४१ मत मात्रै ल्याउनुभएको थियो । भने एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार एक सय १७ मत ल्याउनुभएको थियो । ‘काठमाडौ महानगर प्रमुखमा निर्वाचित बालेन्द्र साहलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दछु ।
साथै उपप्रमुख, वडाध्यक्ष र सदस्यमा निर्वाचित सबै आदरणीय व्यक्तित्वमा बधाई ज्ञापन गर्दै महानगरवासिको भावना बमोजिम कार्य गर्न पूर्ण कार्यकाल भरी मेरो रचनात्मक सहयोग र साथ रहने प्रतिबद्धता समेत व्यक्त गर्दछु,’ उहाँले भन्नुभएको छ । साथै सिंहले निर्वाचनमा खटिएका र मतदान गर्ने सबैलाई धन्यवाद दिनुभएको छ ।आफू मेयर निर्वाचित नभए पनि महानगरबासीका मन जित्न सकेको सिंहको भनाइ छ।
‘विजयी हुने गरी मत ल्याउन सकिनँ तर नगरवासी आमाबुबा, दिदिबहिनी, दाजुभाइको मन जित्न सकें िलोकतान्त्रिक अभ्यासको यो परिणामलाई म हार्दिकतापूर्वक स्वीकार र आत्मसात गर्दछु,’ उहाँले भन्नुभयो । उहाँले काठमाडौं महानगरवासी र सिंगो देशको सेवामा आफू उत्साहपूर्वक लागिरहने संकल्प पनि व्यक्त गर्नुभएको छ । सेतोपाटीबाट