काठमाडौं । नेपाली कांग्रेसकी नेता सिर्जना सिंहले बल प्रयोग गरेर गरिने फोहोर व्यवस्थापन दीर्घकालीन नहुने बताउनुभएको छ । प्रहरीले बन्चरेडाँडामा मंगलबार र बुधबार बल प्रयोग गरेको छ।
काठमाडौंबाट फोहोर बोकेर पुगेका गाडी स्थानीयले रोकेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। ‘स्थानीय जनप्रतिनिधिसँग छलफलमा बस्ने तर जनप्रतिनिधि बैठकबाट बाहिरिन नपाउँदै उता भने बल प्रयोग गरेर फोहोर व्यवस्थापन दीर्घकालिन हुँदैन,’ मेयरमा पराजित भएकी उहाँले ट्वीट गर्दै भन्नुभएको छ, ‘यसो गर्नु राम्रो पनि होइन भनेर बुझ्नुपर्यो।’
उहाँले सहमतिअनुसार कामकारबाही गर्न पनि आग्रह गर्नुभएको छ । ‘कारकारबाही सहमतिअनुरूप हुनुपर्यो। काठमाडौंको होस् वा बन्चरेडाँडाका जनता सबैलाई न्याय होस्,’ उहाँले भन्नुभएको छ । उहाँले घरबाटै फोहोर व्यवस्थापन सुरू गर्नुपर्ने बताउनुभयो । कुहिने र नकुहिने फोहोर बेग्लाबेग्लै राख्नुपर्ने उहाँको भनाइ छ। सेतोपाटीबाट


























