म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाको वडा नम्बर ३ र ४ को सिमाना भएर बग्ने रितुुङ खोलामा पुल निर्माण थालिएको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालयले २५ मिटर लामो सडक पुल बनाउन लागेको हो ।
सवारी साधनसमेत सञ्चालन गर्न सकिने पुलको बुधबार लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले शिलन्यास गर्नुभयो । हाल चितवन बसोबास गर्दै आएका प्रदेश प्रमुख शेरचनको जन्मथलो मालिका गाउँपालिकाको वडा नम्बर–४ ओखरवोट हो ।
शिलान्यासपछि प्रदेश प्रमुख शेरचनले गुणस्तरमा कुनै सम्झौता नगरी निर्धारित समयमै काम पूरा गर्न निर्माण व्यवसायी र सम्बद्ध कार्यालयका प्राविधिकलाई निर्देशन दिनुभयो । स्थानीय जनप्रतिनिधि र सरोकारवालालाई आफ्नो गाउँठाउँमा भित्रिएका योजनाको नियमित अनुगमन, निरीक्षण, सहजीकरण र समन्वय गर्न उहाँले अनुरोध गर्नुभयो ।
प्रदेश प्रमुख शेरचनले म्याग्दीको बेनी–दरवाङ–सोलेडाँडा–तमानखोला–बुर्तिवाङ सडक स्तरोन्नति गरेर मध्य पहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प बनाउने प्रयास गरेको बताउनुभयो । मध्य पहाडी लोकमार्गको बागलुुङ खण्डको तुलनामा म्याग्दीबाट बुर्तिवाङ जान कम समय लाग्छ ।
अदिभारा दरवाङ–डाडागाउँ–सोलेडाँडा–तमानखोला सडकअन्तर्गत पर्छ । यो पुलबाट मालिका गाउँपालिकाको –२, ३, ४ नम्बर वडाका साथै बागलुङको ताराखोला, तमानखोला गाउँपालिका र आसपासका क्षेत्रका बासिन्दा लाभान्वित हुनेछन् । पुल निर्माणका लागि बिमए कोण्डा जेभी (जोइन्ट भेञ्चर) सँग गत असोज अन्तिम साता रु चार करोड दश लाख ८३ हजारमा ठेक्का सम्झौता भएको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख विष्णु पौडेलले जानकारी दिनुभयो ।
पुल निर्माणका लागि रु पाँच करोड चार लाख ३७ हजार लागत अनुमान गरिएको थियो । सम्झौता भएको १८ महिनाभित्र पुल निर्माण सम्पन्न गर्ने लक्ष्य छ । निर्माण व्यवसायीले पहिलो चरणमा पुलको पिल्लर रहने ठाउँको जग खन्न थालेका छन् ।
यसअघिका दुई आर्थिक वर्षमा वार्षिक योजनामा समावेश भए पनि अदिभाराको पुलका लागि कुल लागत अनुमानको २० प्रतिशतभन्दा बढी बजेट बिनियोजन र स्रोत सुनिश्चितता नहुँदा कार्यान्वयन भएको थिएन । अदिभारकाको पुलको लागि आव २०७८÷७९ र चालु आव २०७९÷८० मा रु ५०÷५० लाख विनियोजन भएको थियो । चालु आव २०८०÷०८१ मा रु एक करोड ५० लाख विनियोजन भएको छ ।
अधिभारामा मोटरेबल पुल नहुँदा मालिका गाउँपालिकाको वडा नम्बर २, ३ र ४ नम्बर वडाका बासिन्दालाई पालिकाको केन्द्र दरवाङ आउन जान समस्या भएको थियो । मालिका–३ का वडाध्यक्ष मोतीप्रसाद बुढाले पुल बनेपछि बाह्रै महिना नियमित यातायात सञ्चालन गर्न सहज हुने बताउनुभयो ।
पुुल शिलन्यास कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य बिमला गौचन, गण्डकी प्रदेशका पुुर्व कृषि तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य मन्त्री चन्द्र बहादुुर बुुढा (सागर), मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुुजा, उपाध्यक्ष लक्ष्मीदेवी घर्ति पुन, वडा नम्बर ४ का अध्यक्ष भिजेन्द्रमान पुुन, कार्यपालिका सदस्य तथा माओवादी केन्द्रका पालिका अध्यक्ष अनुुप गौचन, कार्यपालिका सदस्य देवी पटेल लगायतको उपस्थिति रहेको थियो ।
मालिका गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष उदय बुुढाथोकीले स्वागत गर्नुुभएको कार्यक्रम सञ्चालन वडा नं. ३ का अगुुवा लालबहादुुर घतानेले गर्नुुभएको थियो ।