स्वास्थ्य शिविरबाट साढे चार सय बढी लाभान्वित

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४, सिंगामा मंगलवार आयोजित निशुल्क स्वास्थ्य शिविरबाट साढे चार सय जना लाभान्वित बनेका छन् । दर्शन फाउण्डेसन र नेपाल रेडक्रस सोसाईटी सिंगा उपशाखाको आयोजना तथा बेनी अस्पताल र युनाइटेड रेफरेन्स ल्याबोरेटरी, पोखराको प्राविधिक सहयोगमा आयोजित शिविरबाट ४५७ जनाले स्वास्थ्य परिक्षण र उपचार सेवा लिएका छन् ।

शिविरमा दुई सय जना बढीको रगत एवम पिसाब परिक्षण समेत गरिएको नेपाल रेडक्रस सोसाईटी सिंगा उपशाखाका सभापति सुमन बानियाँले जानकारी दिनुभयो । शिविरमा वडा नम्बर ४ सिंगाका सबै गाउँबस्ती संगै छिमेकी वडाका सर्वसाधारणले समेत लाभ लिएको उहाँले बताउनुभयो । शिविरमा, नसा, हाडजोर्नी , महिला सम्वन्धी समस्या भएका विरामीहरु धेरै भेटिएका छन् ।

शिविरमा पेट, छाती, मुटु, मधुमेह तथा थाइराईड, स्त्री तथा प्रसूती रोग, हाड, जोर्नी, नशा तथा बाथ रोग सम्बन्धी विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरिएको थियो । त्यसैगरि शिविरमा जनरल तथा ल्याप्रोस्कोपीक सेवा , रगतमा हुने खराब बोसो, युरिक एसिड सम्बन्धी रक्त एवं पिसाब परीक्षण सेवाका साथै निशूल्क औषधी वितरण समेत गरिएको आयोजकले जनाएको छ ।

शिविरमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर कृष्णराज अधिकारी, डाक्टर सरोजचन्द्र दाहाल , डाक्टर विराट शर्मा, डाक्टर राज गुरुङ, बेनी अस्पतालका डाक्टर अन्जु थापा, डाक्टर रामु सापकोटा सहित ३५ जना स्वास्थ्यकर्मीहरुको टोलीले विरामीको स्वास्थ्य परिक्षण तथा औषधी वितरण सेवा प्रदान गर्नुभएको थियो ।

घरदैलोमा शिविर आयोजना भएपछि लुकेर रहेका स्वास्थ्य समस्याहरुको पहिचान र समस्यमै उपचार गराउने र स्वास्थ्यलाभ गर्ने अवसर मिलेको बेनी नगरपालिकाका –४, का वडा अध्यक्ष अणबहादुर खड्काले बताउनुभयो ।शिविरको समापन गर्दै बेनी नगरपालिकाका मेयर सुरत केसीले गाउँघरमा लुकेका स्वास्थ्य समस्याको पहिचान गर्न शिविरले सघाउ पु¥याएको बताउँदै शिविर आयोजना र सञ्चालनमा सहयोग गर्नेहरुलाई धन्यबाद ज्ञापन गर्नुभयो । शिविरको उद्घाटन कार्यक्रममा रेडक्रस सोसाईटी जिल्ला शाखा सभापति अमर बानियाँ, कोषाध्यक्ष नवराज शर्मा, दर्शन फाउण्डेसनका अध्यक्ष प्रितमसेन ठकुरी, युनाइटेड रेफरेन्स ल्याबोरेटरीका अध्यक्ष ठाकुर प्रसाद पन्त लगायतले मन्तव्य राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार