राष्ट्रपतिद्वारा केपी ओलीलाई प्रधानमन्त्री नियुक्त , भोलि शपथ

  म्याग्दी न्युज संवाददाता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । कांग्रेस एमालेको दाबी अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । प्रधानमन्त्रीको रूपमा सिंहदरबारमा योसहित ओलीको चौथो इन्ट्री हो ।चौथो पटक प्रधानमन्त्री बन्नुभएका ओलीको पद तथा गोपनीयताको शपथ सोमबार ११ बजे हुनेछ ।कांग्रेसका ८८ सांसदको समर्थनमा शुक्रबार राति ओलीले संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीको दाबी पेश गर्नुभएकाे थियाे ।कांग्रेस एमाले गठबन्धनलाई जसपा, जनमत पार्टी, जसपा नेपाल, लोसपा, नागरिक उन्मुक्ति पार्टीको समेत साथ छ ।

कांग्रेस एमालेले ओलीको शपथ लगत्तै साना दलहरूलाई पनि साथ लिएर मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गर्नुभएको छ । ओली पहिलो पटक २०७२ असोज २४ मा प्रधानमन्त्री बन्दा १० महिना टिक्नुभएको थियो । ०७४ मा एमाले–माओवादीबीचको वाम गठबन्धन बनाएर दुई तिहाइनजिक बहुमत ल्याएपछि २०७४ फागुन ३ गते दोस्रो पटक प्रधानमन्त्री हुनुभएको थियो ।

तत्कालीन नेकपाभित्रको विवाददेखि संसद् विघटनसम्मको अवस्थामा ओलीले तीन वर्ष शासन गर्नुभएकाे थियाे  । त्यही विवादको क्रममा प्रतिनिधिसभाबाट विश्वासको मत नपाएपछि सबैभन्दा ठूलो दलको हैसियतमा प्रधानमन्त्री बनेर ७८ वैशाख ३० देखि असार २९ सम्म प्रधानमन्त्री बन्नुभयो। सर्वोच्च अदालतले ओलीले गरेका प्रतिनिधिसभा पुनः स्थापना गर्दै कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि सत्ताविमुख हुनुभएको थियो । सत्ताबाट बहिर्गमन भएको ठीक तीन वर्षपछि ओली पुनः सत्तामा फर्किनुभएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार