मोनाको नवौं वार्षिक साधारणसभा , उत्पादनशिल क्षेत्रमा लगानी गर्न आग्रह

  म्याग्दी न्युज संवाददाता

बेनी । रोजगारी ,अध्ययन ,व्यवसाय लगायत विभिन्न सिलसिलामा प्रवासमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको नवौं वार्षिक साधारणसभा मंगला गाउँपालिका -२ ,स्थित   बाबियाचौरमा सुरु भएको छ । शुक्रबारदेखि  इन्द्रेणी पार्कमा सुरु भएको वार्षिक साधारणसभाको प्रतिनिधि सभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले उद्घाटन गर्नुभयो । सांसद गर्बुजाले मोनाले जिल्लामा पु¥याएको योगदानको प्रशंसा गर्नुभयो । उहाँले प्रवासमा सिकेका सिप ,पुँजी र प्रविधि जन्मभुमी जिल्लामा लगानी गर्न आग्रह गर्नुभयो । ‘‘जिल्लाको विकास र समृद्धिका लागि सबै एक हुन आवश्यक छ ,’’ सांसद गर्बुजाले भन्नुभयो,‘‘ जिल्लामा उत्पादनशिल क्षेत्रमा लगानी गर्नुहोस् हामी पुर्वाधार लगायत आवश्यक वातावरण निर्माण गर्न सहयोग गर्नेछौं ।’’ आफु , प्रदेशसभा सदस्यहरु लगायत सबैको संयुक्त पहलमा जिल्लामा सडक ,खानेपानी लगायत ठुला–ठुला आयोजनाका लागि बजेट भित्रिएको सांसद गर्बुजाको भनाइ छ ।  बृहत घोप्टेखोला खानेपानी , पूर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गको वैकल्पिक मानिएको बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटनसडक लगायत विभिन्न ठुला आयोजनाहरु कार्यान्वयनको चरणमा अगाडी बढेको जानकारी दिनुभयो । प्रदेशसभा सदस्यद्धय रेशमबहादुर जुग्जाली र बिमला गौचनले जिल्लाको विकास र समृद्धिका लागि संघ,प्रदेश र स्थानीय तहविच सहकार्य भइरहेको बताउँदै प्रवासमा रहेका म्याग्दीलीहरुले जिल्लामा उत्पादनशिल क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो ।

मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले गाउँपालिका लोकल रक्सी ब्राण्डिङ गर्ने नीति लिएको जानकारी गराउँदै त्यसका लागि आवश्यक लगानी भित्र्याउन प्रवासी म्याग्दीलीहरुलाई आग्रह गर्नुभयो । मंगला गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी क्षेत्रीले मोनाको वार्षिक साधारणसभा मंगलामा सञ्चालन गरेर स्थानीय कला संस्कृतिको प्रवद्धन र पर्यटन क्षेत्रमा टेवा पुग्नेमा विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका उपसभापति केवी भण्डारी , नेत्र ज्योती संघ म्याग्दीका सभापति अमर बानियाँ , वडा नम्बर २ का वडा अध्यक्ष धनबहादुर खाती क्षेत्री , मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिका पुर्व अध्यक्षहरु योगेन क्षेत्री , प्रकाश पुन , चक्रबहादुर थापा , ओमनारायण जुग्जाली , साधारणसभा मुल संयोजक मिम पुर्जा , मोना युएईका अध्यक्ष सुवास राम्जाली, स्थानीय व्यवस्थापन उपसमिति संयोजक यामबहादुर थापा लगायतले बोल्नुभएको थियो । यसैगरी सोही वार्षिक साधारसभाको अवसरमा आयोजित आँखा शिविरमा ८७१ जना विरामीले सेवा लिएका छन् । शिविरमा ४५ जनाको मोतियाविन्दु शल्यक्रिया गरिएको शिविर संयोजक तथा मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिका कोषाध्यक्ष नरेन्द्र फगामीले जानकारी दिनुभयो ।

मोनाको आयोजना तथा नेपाल नेत्र ज्योती संघ म्याग्दी र हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा उक्त शिविर असोज १६, १७ र १८ गते संचालन भएको हो । साधारणसभा शनिबार सम्पन्न हुँदैछ । मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिका अध्यक्ष ददिवल खड्काले विभिन्न २८ वटा देशमा फैलिएको जानकारी गराउनुभयो । उहाँले मोनाले प्रवासमा म्याग्दीहरु बिच भाइचाराको सम्बन्ध स्थापित , आपतविपतमा परेकालाई उद्धार र सहयोग संगै जिल्लाको हरेक क्षेत्रमा योगदान पु¥याउँदै आएको स्मरण गर्नुभयो । उहाँले आगामी दिनमा पनि संगठन विस्तारदेखि जिल्लामा लगानी भित्र्याउन आफुले पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।श्रीराम पौड्याल र सपना रोका मगरले कार्यक्रम संचालन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार