बेनी नगरपालिकाको १६ औं नगरसभा , थप १ करोड ६० लाख बजेट विनियोजन

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको बेनी नगरपालिकाको १६ औं नगरसभाबाट थप १ करोड ६० लाख रुपियाँ बजेट विनियोजन गरेको छ । बिहिबार नगरपालिकाको सभाहलमा आयोजित नगरसभामा वडाका योजना तथा कार्यक्रमको बजेट समेत शंसोधन गरी ४० नयाँ योजना र संसोधित २८ योजनामा बजेट विनियोजन गर्दै पारित गरेको हो ।

नगरप्रमुख सुरत केसीको अध्यक्षतामा भएको नगरसभामा वडासमितिबाट छनोट भई सिफारिस भएका योजनालाई न्यूनतम ९ लाख ५० हजार हजारदेखि ६ लाखसम्म बजेट विनियोजन गर्दै पारित भएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताउनुभयो ।

नगरसभाबाट सडक मर्मत, पदमार्ग, बस्ती संरक्षण, स्वास्थ्यचौकी मर्मत, विपन्न आवास विस्तार,नाली तथा शैचालय निर्माण लगायतका विभिन्न योजनाहरू रहेका छन् । नगरसभामा नगरस्तरीय सम्भाब्यता अध्ययनका लागि ९ लाख ५० हजार, विपन्न आवास निर्माणमा ५ लाख सहित समपुरक कोषमा समेत बजेट विनियोजन गरिएको छ ।

नगर उपप्रमुख ज्योति लामिछाने पौडेलले वडास्तरीय योजना कार्यान्वय नभएकालाई समेत संशोधन गरेर नयाँ योजना छनोट गरी पारित गरेको बताउनुभयो । संशोधित योजनाहरूमा वडास्तरीय विकास निर्माण, आयआर्जन, पदमार्ग, विपद्जन्य सहयोगका साथै शिक्षा, स्वास्थ्य र समुदायस्तरबाट गरिएको मागमा आधारित रहेको छ ।

नगरसभामा ६ वटा विषयगत समिति आर्थिक, सामाजिक, पूर्वाधार, सेवाप्रवाह तथा शुसासन, बन तथा वातावरण तथा विपद् समिति र न्यायिक समितिले आफ्नो कार्यप्रगति प्रस्तुत गरेका थिए । नगरसभामा सम्बोधन गदैं नगर प्रमुख केसीले वडास्तरबाट प्राथमिकतका साथ आएका योजनाहरूलाई पारित गरिएको बताउँदै बजेट कार्यान्वयन समेत सन्तोषजनक हुनुपर्ने बताउनुभयो । नगरसभा सदस्यले बजेट विनियोजन तथा विविध विषयमा आफ्नो भनाइ राखेका थिए ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार