सहकारी ठगी आरोपमा म्याग्दीका जिसस प्रमुख सहित पाँच जना पक्राउ

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । सहकारी ठगीको आरोपमा म्याग्दीका जिल्ला समन्वय समितिका प्रमुख सहित पाँच जना पक्राउ परेका छन् । बेनी नगरपालिका–८ मा रहेको कुमारी बहुउदेश्यीय सहकारी संस्थाका बचतकर्ताहरुको बचत रकम हिनामिना गरेको आरोपमा जिसस प्रमुख राजकुमार थापा सहित सहकारीका पाँच जनालाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले आइतवार बिहान पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा प्रमुख थापा सहित रघुगंगा गाउाँपालिका ५ झिँका मनप्रसाद थजाली, अन्नपूर्ण गाउँपालिका–७ हिस्तानका थमबहादुर गर्बुजा, बेनी नगरपालिका–१ रत्नेचौरकी देवि कुमारी थापा र पर्वत जलजला गाउँपालिका लेकफाँटका रुद्र बहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार थप अनुसन्धान सुरु गरिएको छ ।

गण्डकी प्रदेश सरकारको सहकारी रजिष्टार कार्यालय पोखराले गरेको छानविनको क्रममा उक्त सहकारीमा सर्वसाधारणले बचत गरेको डेढ अर्ब रुपैयाँ हिनामिना गरेको भेटिएको र आबश्यक कानुनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालयलाई प्रतिवेदन पठाएपछि जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

सहकारीमा रहेको सर्वसाधारणको बचत रकम तत्कालीन सहकारीका सञ्चालकहरुले ढुकुटी खेलाउने, निजी स्कुल र घरजग्गामा लगाउनेजस्ता व्यक्तिगत स्वार्थमा प्रयोग गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

२०७९ साल माघ २८ गते सहकारीका अध्यक्ष यमबहादुर रोकाले सहकारी रजिष्ट्रारको कार्यालयमा लिखित निवेदन दिएर सहकारी रकम छानविनका लागि समेत माग गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार