
बेनी । पर्यटन क्षेत्रको सम्भावना बोकेको म्याग्दीको बेनी नगरपालिका–४,सिंगाको सोता गाउँलाई चिनाउन आयोजित महाशिवरात्री मेला–२०८१ सम्पन्न भएको छ । सोता स्थित सोता युवा क्लको आयोजना र सोता आमा समुहको सहआयोजनामा शुक्रबारदेखि सञ्चालित महाशिवरात्री मेला एवं विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम शनिबार सम्पन्न भएको हो । मेलामा सञ्चालित २० हजार रुपैयाँ पुरस्कार राशिको पुरुष छेलो प्रतियोगिताको उपाधि पोखराका दुजिक थापा मगर हात पार्नुभएको खेल संयोजक मदन आलेले जानकारी दिनुभयो ।
उहाँका अनुसार , पुरुष छेलोमा द्धित्तिय निसान बोहोराले दश हजार रुपैयाँ प्राप्त गर्नुभएको थियो । यसैगरी प्रथम ५ हजार र द्धित्तिय २५०० पुरस्कार राशी रहेको महिला छेलो प्रतियोगितामा खिमकुमारी किसान प्रथम र आरती थापा मगर द्धित्तिय हुनुभएको छ । त्यस्तै पुरुष लठो तान्ने प्रतियोगितामा आयोजक प्रथम र द्धित्तिय बेनी नगरपालिका–२,खबराको टिम द्धित्तिय भएका दुवै टिमले क्रमशः १५ हजार र ७५०० रुपैयाँ नगद सहित प्रमाणपत्र हात पार्नुभयो । महिला लठो तान्ने प्रतियोगितामा सोता आमा समुह बी प्रथम र न्युरोड बेनी टिम द्धित्तिय भएका थिए । महिला लठो तान्ने विजेता र उपविजेताले क्रमश ः १० हजार र ५ हजार रुपैयाँ नगद सहित प्रमाणपत्र प्राप्त गर्नुभयो । स्लो बाइक रेस प्रतियोगितामा विजेता सौरभजंग कार्कीले ५ हजार ५५५ रुपैयाँ नगद सहित प्रमाणपत्र प्राप्त गर्नुभयो ।
क्लब अध्यक्ष बलहादुर आले मगर , आमा समुह अध्यक्ष गंगादेबी रोका थापा मगर र स्थानीय समाजसेवी शान्ता रोका मगरले पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रमको समापन गर्दै अध्यक्ष आले मगरले ओझेलमा रहेको सोता गाउँलाई चिनाउन मेलाको आयोजना गरिएको बताउनुभयो । उहाँले मेलालाई सफल बनाउन आर्थिक सहयोग गर्ने सहयोगीदाताहरु लगायत सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले सोता गाउँ तल रहेको मैदान पछिल्लो समय वनभोज गर्ने स्थलको रुपमा विकसित हुँदै गएकोले यसको विकास र प्रचारप्रसार आवश्यक रहेको बताउनुभयो । सोता गाउँमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर स्थानीय सरकारले पुर्वाधार निर्माणमा जोड दिनुपर्ने उहाँको भनाइ थियो । यसैगरी उहाँले गाउँमा होमस्टे (घरबास) आवश्यक रहेको बताउनुभयो ।कार्यक्रमको उद्घाटन वडा नम्बर ४ का वडा अध्यक्ष अणबहादुर खड्का (भगवान)ले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा स्थानीय कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।