कोरियामा आत्महत्या गर्न बाध्य भएका म्याग्दीका तुलसी पुन मगरका मालिक पक्राउ

  म्याग्दी न्युज संवाददाता

काठमाडौँ । कोरियाको प्रहरीले नेपाली श्रमिक तुलसी पुन मगरलाई आत्महत्या गर्न बाध्य हुने गरी कुटपिट गर्नुका साथै श्रमिकहरुको तलब भुक्तान नगरेको अभियोगमा बंगुर फर्म मालिकलाई सोमबार (वैशाख १५ गते) पक्राउ गरेको छ । प्रवासी श्रमिक युनियन (एमटियु) र छल्लानादो प्रवासी श्रमिक मानव अधिकार सस्थाको निरन्तर दबाबपछि प्रहरीले कोरियाको छल्लानाम्दो याङामगुन स्थित नान उसङ बंगुर फार्मका मालिकलाई थप अनुसन्धान गर्न पक्राउ गरेको हो । उनलाई पक्राउ गर्न एमटियु र मानव अधिकारवादी संस्थाले चैत २६ गते उजुरी दर्ता गराएका थिए । यो फर्म राजधानी सोलबाट झन्डै ३६० किलोमिटर टाढा छ ।

यो पनि…

म्याग्दीका तुल्सी पुन मगर कोरियामा झुण्डिएको अवस्थामा मृत फेला

एमटियुका अध्यक्ष उदय राईले श्रमिकमाथि भएको कुटपिट र तुलसी पुनको आत्महत्याको विषय न्यायिक निरुपणको क्रममा प्रवेश गरेको बताए । उनका अनुसार श्रम कार्यालयको अनुसन्धानबाट बंगुर फर्मका मालिकबाट २५ करोड ९० लाख वान भुक्तान नभइ श्रमिकलाई पिटेर भगाएको खुलेको छ । गत फागुन ९ गते माग्दीको मालिका गाँउपालिका–१, निस्कोटका मगर बंगुर फार्ममा आत्महत्या गरेका थिए । उनी रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कृषि क्षेत्रमा काम गर्न ६ महिना अगाडि मात्रै कोरिया पुगेका थिए । उनका सहकर्मीहरु लालबहादुर तामाङ, प्रेमबहादुर तामाङ, रुकबहादुर सिंह, सुरेन्द्र थिङ, घनश्याम घिमिरे र तुलसी पुन मगरले आफूहरूमाथि यातना भइरहेकाले बंगुर फर्मबाट बाहिर निस्कन चाहेको भिडियो सार्वजनिक गरेका थिए । त्यसको केही दिनमै मगरले आत्महत्या गरेका थिए ।

‘म यहाँ आएको दुई महिना नपुग्दै चार पटक कुटाइ खाइसकेँ । एक्ला–एक्लै सीसीक्यामरा नभएको ठाउँमा लगेर कुट्छ,’ लालबहादुरले भिडियोमा अपिल गरेका थिए, ‘त्यही भएर म यो कम्पनीमा बस्न चाहन्नँ । दैनिक यातना दिन्छ ।’ भिडियोमा तुलसीले पनि आफूमाथि कुटपिट भइरहेको बताएका थिए । ‘हाम्रो समस्या एउटै हो । हामीलाई उद्धार गर्नुहोला,’ तुलसीले भनेका थिए । तर, उनी न कम्पनी छाडेर बाहिर निस्कन सके न नेपाल नै फर्कन सके । आत्महत्याको बाटो रोज्न पुगे ।

मगरको आत्महत्या पछि फागुन १२ गते राजधानी सोलबाट कम्पनीमा रहेका नेपाली श्रमिकका विषयमा नेपाली दूतावासका श्रम काउन्सिलर मैया कँडेल, कोरियाको आधिकारिक प्रवासी ट्रेड युनियन (एमटीयू) का अध्यक्ष उदय राई, गैरआवासीय नेपाली संघ, कोरियाका अध्यक्ष विपिनकुमार गुरुङ पुगेका थिए । उनीहरूसमक्ष पीडित श्रमिकले नेपाली सुपरभाइजर सुजन शाह र कोरियन रोजगारदाता मिलेर सीसीक्यामेराले नदेख्ने कुनामा लगेर कुट्ने, मोबाइल बोक्न नदिने, कम्पनीबाट बाहिर निस्कन नदिने गरेको भन्दै दोषीमाथि कारबाही गर्नुपर्ने माग राखेका थिए ।ekantipurबाट साभार 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार