११ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा बेनी नगरपालिका च्याम्पीयन

बेनी । म्याग्दीको सदरमुकाम बेनीमा शुक्रबार सम्पन्न ११ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी बेनी नगरपालिकाले जितेको छ । जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा २५ स्वर्ण, १४ रजत र छ कास्य पदक सहित बेनी नगरपालिका बिजयी भएको हो ।

प्रतियोगितामा आठ स्वर्ण, पाँच रजत र तीन कास्य पदक जितेको अन्नपूर्ण गाउँपालिका दोस्रो भएको समितिका सचिव नगेन्द्र मल्लले जानकारी दिनुभयो । गत वर्षको बिजेता रघुगङ्गा गाउँपालिका छ स्वर्ण, १२ रजत र १० कास्य पदक सहित तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भयो । दुई दिनसम्म सञ्चालन र छ वटा स्थानीय तह सहभागी प्रतियोगिताको बिजेताले रनिङ्ग शिल्ड, ट्रफी र मेडल सहित नगद रु. २० हजार प्राप्त गरेको छ ।

दोस्रोलाई रु. १५ हजार र तेस्रोलाई रु. १० हजार तथा विधागत रुपमा प्रथम हुने पालिका र उत्कृष्ट खेलाडीलाई नगद सहित पुरस्कृत गरिएको छ । पुर्व उर्जा, जलस्रोत तथा सिचाई राज्यमन्त्री खमबहादुर गर्बुजा (खम्बिर), बेनी नगरपालिकाका प्रमुख सुरत केसी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठ लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

भलिबल, कवड्डी, एथलेटिक्स, कराते र तेक्वान्दो बिधाका ४२ वटा खेलमा चार सय ५० जना खेलाडीहरुबीच प्रतिस्पर्धा भएको थियो । गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ प्रतियोगितामा भाग लिनका लागि ९८ जना खेलाडी छनौंट हुने भएका छन् ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्रेष्ठको अध्यक्षता तथा कोषाध्यक्ष नगेन्द्र मल्लले सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार