चित्रकारको क्यानभासमा म्याग्दीका धार्मिक तथा पर्यटकीय स्थलहरु(तस्बिर/भिडिओ)

  म्याग्दी न्युज संवाददाता

म्याग्दी  । म्याग्दीको बेनीमा बुधबार चित्रकला कार्यशाला सम्पन्न भएको छ । कार्यशालामा सहभागी चित्रकारहरुले म्याग्दीका धार्मिक पर्यटकीय स्थलहरुलाई चित्रमा उतारेका छन् । म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यम विकास समितिले आयोजना गरेको कार्यशालामा म्याग्दी र बागलुङका १२ जना चित्रकारहरु सहभागी हुनुभएको थियो ।

माघे संक्रान्ति मेला, खाना महोत्सव र कृषि मेला प्रर्दशनीको अवसरमा कलाको माध्यमबाट धार्मिक पर्यटकीय स्थलहरुको प्रचारप्रसार र पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले चित्रकला कार्यशाला आयोजना गरिएको हो ।सहभागीहरुले आयोजकले उपलब्ध गराएको तस्विर हेरेर पुनहिल, रुप्से झरना, ताकमकोत, भगवतिकोत, मालिका धुरी, झाँक्रीपानी, लभ्लीहिल, महारानीथान, करबाकेली थान, मालिका धुरीलगायतका स्थलहरुको आकर्षक र मनमोहक चित्र कोरेका थिए ।

म्याग्दीको मंगला गाउँपालिका–३ ,पखेर घर भएका ललितकला क्याम्पसका उपप्रध्यापक पकबहादुर थापाको अगुवाईमा कार्यशाला भएको हो ।कार्यशालामा सहभागी चित्रकार ललिन्द्र थापाले अग्रज कलाकारहरुबाट सिक्न र समकालिनहरुबीच अनुभव आदानप्रदान गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।

करबाकेलीलाई चित्रमा उतार्दै गर्नुभएका मालिका गाउँपालिका -६, दरबाङका भीमबहादुर बिक र मंगला गाउँपालिका -२,का रुपेश कार्कीलेले  कार्यशालामा सहभागी भएर चित्र कोर्दा दिन बितेको पत्तै नपाएको अनुभव सुनाउनुभयो । घरको कोठा र स्थलगत रुपमा पुगेर तयार पार्दै आएका कार्कीका लागि कार्यशाला पहिलो हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार