६९औँ राष्ट्रिय सहकारी दिवसमा बेनी प्रादेशिक अस्पतालमा सरसफाई तथा फलफूल वितरण

म्याग्दी, २० चैत । ६९औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर म्याग्दीको बेनीस्थित प्रादेशिक अस्पताल परिसरमा सरसफाई तथा फलफूल वितरण कार्यक्रम सम्पन्न गरिएको छ । “उद्यमशीलता र पारदर्शिता, सहकारीको प्राथमिकता” भन्ने मूल नारासहित आयोजित उक्त कार्यक्रम सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरिएको हो ।

शुक्रबार जिल्ला सहकारी संघ लिमिटेड, बेनी म्याग्दीको आयोजनामा तथा को–अपरेटिभ म्यानेजर्स क्लब (CMC) म्याग्दीको सह–आयोजनामा सम्पन्न कार्यक्रममा अस्पताल परिसर, बगैंचा तथा आसपासका क्षेत्रहरूमा व्यापक सरसफाई गरिएको थियो । कार्यक्रममा सहभागी सहकारीकर्मी, कर्मचारी तथा स्थानीयवासीहरूले हातेमालो गर्दै अस्पताल क्षेत्रलाई सफा र व्यवस्थित बनाउन सक्रिय भूमिका निर्वाह गरेका थिए ।

कार्यक्रममा अस्पतालमा उपचाररत बिरामीहरुको स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण समेत गरिएको थियो । बिरामी तथा उनका कुरुवाहरूलाई लक्षित गर्दै गरिएको उक्त सहयोगले मानवीय सेवा भावको उदाहरण प्रस्तुत गरेको आयोजकले बताएको छ ।

जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष प्रेमबहादुर कार्की (बिखर्ची)ले सहकारी क्षेत्र केवल आर्थिक कारोबारमा मात्र सीमित नभई सामाजिक उत्तरदायित्व बहन गर्ने महत्वपूर्ण संस्था भएको उल्लेख गर्नुभयो । उहाँले यस्ता कार्यक्रमहरूले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै सहकार्य, सहयोग र सेवाको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने बताउनुभयो ।


कार्यक्रममा सहभागीहरूले सहकारी दिवसलाई केवल औपचारिक कार्यक्रमका रूपमा नभई समुदायसँग जोडिने अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरूले सरसफाईजस्ता अभियानले सार्वजनिक स्थलहरू स्वच्छ राख्न प्रेरणा दिने र स्वास्थ्यप्रति जनचेतना बढाउने विश्वास व्यक्त गरेका छन् ।

उक्त कार्यक्रममा विभिन्न सहकारी संस्थाका प्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो । आगामी दिनहरूमा पनि यस्ता सामाजिक तथा सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने आयोजकले जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार