
बेनी, २९ वैशाख । म्याग्दीको धवलागिरी गाउँपालिका लाई १६ महिनादेखि पाँच वर्षमुनिका बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । खोपको माध्यमबाट रोगको रोकथाम, निवारण तथा उन्मूलन गरी शिशु, बाल, मातृ तथा अन्य व्यक्तिको मृत्युदर घटाउने, साथै खोप सेवाको विस्तार र सुदृढीकरण गरी गुणस्तरीय सेवा निरन्तर प्रदान गर्ने प्रतिबद्धतासहित मंगलबार आयोजित एक समारोहबीच गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना स्थानीय तह घोषणा गरिएको हो ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सम्झना कार्की ले सातवटै वडामा गरिएको घरधुरी सर्वेक्षणअनुसार जन्मेदेखि २३ महिनामुनिका १५७ जना तथा १६ महिनादेखि पाँच वर्षमुनिका ५३४ जना सबै बालबालिकाले १५ महिनाभित्र पाउनुपर्ने सम्पूर्ण खोप प्राप्त गरेको जानकारी दिनुभयो ।
१६ महिनादेखि पाँच वर्षमुनिका बालबालिकाले बीसीजी, रोटा, पोलियो, एफआईपीभी, पीसीभी, डीपीटी, हेप–बी, दादुरा–रुवेला तथा जापानीज इन्सेफलाइटिसविरुद्धका विभिन्न चरणका खोप तोकिएको समयतालिकाभित्र प्राप्त गरेपछि पूर्ण खोप पाएको मानिन्छ ।
नेपालको संविधानको धारा ३५ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार प्रत्येक बालबालिकाले पूर्ण खोप पाउनुपर्ने कानुनी व्यवस्था रहेको छ । विश्व स्वास्थ्य संगठनको प्रावधानअनुसार पनि हरेक वर्ष पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने गरिन्छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद–३ मा गाउँपालिकारनगरपालिकाको काम, कर्तव्य र अधिकार तथा वडा समितिको जिम्मेवारीअन्तर्गत आधारभूत स्वास्थ्य सेवाभित्र खोप सेवा सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन को अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रेशम पुनमगर, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्मा, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दी का प्रमुख भुवन ठकुराठी, जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो ।
खोप अभियानमा योगदान पुर्याउने स्वास्थ्य संस्था र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान गरिएको थियो भने स्वास्थ्यकर्मीहरूले सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरेका थिए ।














































