बौद्ध युवा क्लबको अध्यक्षमा बुढा मगर

  म्याग्दी न्यूज संवाददाता

बेनी। म्याग्दीको बेनी नगरपालिका-७, मंगलाघाट स्थित बौद्ध युवा क्लबको अध्यक्षमा दुर्गा बुढा मगर चयन हुनुभएको छ। खेलकुद सँगै सामाजिक क्रियाकलापमा सक्रिय क्लबको शुक्रबार सदरमुकाम बेनीमा सम्पन्न छैटौँ अधिवेशनबाट सर्वसम्मत अध्यक्ष पदमा बुढा मगर चयन हुनुभएको हो । नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।नयाँ कार्यसमितिको उपाध्यक्षमा शिव शेरचन, सचिवमा श्यामसुन्दर कँडेल, कोषाध्यक्षमा कमल घर्ती मगर र सहसचिवमा लक्ष्मी पुन चयन हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा नारायण केसी, राजिप थापा, विकास कुँवर, प्रेम राना, सागर थापा, जीवन केसी, अनुपम श्रेष्ठ, लछुमन थापा लगायत रहनुभएको छ।

बेनी नगरपालिका–७ ,का वडा सदस्य रमेश फगामीले अधिवेशनको उद्घाटन गर्नुहुँदै बौद्ध युवा क्लबले सञ्चालन गर्दै आएका खेलकुद तथा सामाजिक गतिविधिलाई अझ प्रभावकारी र रचनात्मक बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले युवाहरूलाई खेलकुदमार्फत सकारात्मक र सिर्जनात्मक गतिविधितर्फ अग्रसर गराउन क्लबले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो।

कार्यक्रममा क्लबका सल्लाहकार किरन तुलाचनले खेलकुदले युवाहरूमा नेतृत्व क्षमता, अनुशासन र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न सहयोग पुग्ने उल्लेख गर्दै समाज रूपान्तरणको अभियानमा युवाहरूको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो।अध्यक्ष दुर्गा बुढा मगरले बौद्ध युवा क्लबले स्थापना कालदेखि नै युवाहरूलाई खेलकुदसँगै सामाजिक गतिविधिमा सक्रिय बनाउँदै आएको स्मरण गर्दै आगामी दिनमा सबै सरोकारवाला निकायसँग समन्वय गरी खेलकुद कार्यक्रम सहित युवामुखी, सिर्जनशील र समाज उपयोगी कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार