
साधन राम्जाली मगर
म्याग्दी । हिमाल, पहाड र नदीले घेरिएको म्याग्दीको रघुगंगा गाउँपालिका केही वर्षअघिसम्म भिरालो कठिन भुगोल अनि दुर्गम बस्तीका कारण यातायात र पूर्वाधार विकासको चुनौतीसँग जुधिरहेको थियो । धवलागिरिको फेदीदेखि कालीगण्डकी नदीको किनारसम्म फैलिएको यस पालिकाका धेरै बस्ती सडक पहुँचबाट टाढा थिए भने सरकारी सेवा लिन स्थानीयले घण्टौँ पैदल यात्रा गर्नुपर्ने बाध्यता थियो। तर स्थानीय सरकार गठन यता सडक तथा भौतिक पूर्वाधार विकासका कारण नयाँ स्वरूपमा देखिन थालेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि वडा,बस्ती तहसम्म सडक स्तरोन्नति, कालोपत्रे, ढल तथा संरक्षण संरचना निर्माणका काम अघि बढिरहेका छन् भने स्थानीय सरकारको दीर्घकालीन आवश्यकता मानिएको प्रशासकीय भवन निर्माण भइरहेको छ ।

निर्माण भएका सडक लगायत भौतिक पुर्वाधार संरचनाले ग्रामीण जनजीवनलाई सहज बनाएका छन्। यसले दुर्गम बस्तीलाई सेवा केन्द्रसँग जोड्नुका साथै स्थानीयको दैनिक जीवनलाई थप सहज बनाएको छ । गाउँपालिकाले प्रशासकीय भवन निर्माण, मुख्य सडक स्तरोन्नति, ग्रामीण गोरेटो बाटो विस्तार तथा सामुदायिक भवन निर्माणमा वर्षेनी करोडौँ रुपैयाँ बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाको ४८ करोड ६५ लाख ३९ हजार रुपैयाँको कुल बजेटमध्ये सडक पूर्वाधार र भवन निर्माणमा ठुलो बजेट विनियोजन भएको छ ।

सडकले जोड्दै गाउँ र सेवा केन्द्र
दुर्गम भूगोलका बीच सडक सञ्जाल विस्तार हुनु रघुगंगाको विकास यात्राको महत्वपूर्ण आधार बनेको छ । ग्रामीण विकासको मेरुदण्ड मानिने सडक पूर्वाधारलाई प्राथमिकतामा राख्दै गाउँपालिकाले ठूला सडक योजनासँगै आवतजावत र कृषि उपज ढुवानी सहज बनाउन गोरेटो बाटो निर्माणमा पनि लगानी बढाएको छ । जलविद्युत आयोजनासँगको सहकार्यमा हाइड्रो प्रभावित क्षेत्रमा सडक तथा अन्य भौतिक पूर्वाधार विस्तार गरिएको छ ।

नयाँ सडक खोल्नुभन्दा पुराना सडकलाई स्तरोन्नति गरी वर्षभरि सञ्चालनयोग्य बनाउने रणनीतिअनुसार चालु वर्षमा १५ वटा सडक योजनामार्फत ०.४० किलोमिटर ढलान, ३.३५ किलोमिटर नयाँ ट्«याक, ०.७१ किलोमिटर सोलिङरग्राभेल तथा ३४.३४ किलोमिटर सडक मर्मत गरिएको छ ।

गाउँपालिकाले उपलब्ध गराएको तथ्याङ्क अनुसार ,आर्थिक वर्ष २०७८/०७९ देखि हालसम्म गाउँपालिकाले ९ सय ८१ मिटर सडक ढलान र कालोपत्रे ,नयाँ ट्र्याक ३० दशमलव २३ कि.मि. ,एक सय २१ दशमलव ५६ कि.मि.सडक मर्मत ,सोलिङ तथा ग्राभेल ३ दशमलव०५ कि.मि. ,१२ दशमलव७८ कि.मि.पदमार्ग निर्माण ,दुई दशमलव ७ कि.मि. घेराबार गरिएको छ । सबैभन्दा ठूलो सडक योजनामध्ये राखु–वेग सडकका लागि १ करोड ६० लाख रुपैयाँ तथा भगवती मैदान–बेगखोला–बेगदेउराली–बाँदुक–तिप्ल्याङ सडकका लागि ७० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । यस्ता सडकले दुर्गम बस्तीलाई बजार, शिक्षा, स्वास्थ्य र प्रशासनिक सेवासँग जोड्न थालेका छन्।

सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रशासकीय तथा सामुदायिक भवनमा करोडौँको लगानी
नागरिकलाई दिने सेवा प्रवाहलाई चुस्त र आधुनिक बनाउन गाउँपालिकाले आफ्नै कार्यालय भवनदेखि वडा स्तरका सामुदायिक भवन तथा मन्दिर निर्माण गरिरहेको छ । गाउँपालिकाको सबैभन्दा ठूलो पूर्वाधार योजना गाउँपालिका प्रशासकीय भवन निर्माण हो । आधुनिक र व्यवस्थित सेवा प्रवाह गर्ने लक्ष्य सहित गाउँपालिकाले निर्माणाधिन भवनलाई पाँच करोड ३२ लाख र गण्डकी प्रदेश सरकारबाट दुई करोड ५० लाख रुपैयाँ गरी हालसम्म सात करोड ८२ लाख रुपैयाँ बजेट विनियोजन भइसकेको छ । भवन निर्माण सम्पन्न भएपछि एउटै छानामुनी नागरिकले सहज रूपमा सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ । भने सेवाग्राहीको समय र खर्च दुवै बचत हुनेछ । वडा नम्बर १ मा शिवालय मन्दिर भवन निर्माणका लागि ८ लाख रुपैयाँ, समाजघर बैठक कक्ष निर्माणका लागि २ लाख रुपैयाँ तथा वडा कार्यालय सभाहल तथा घेराबार निर्माणका लागि करिब ३२ लाख २९ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

यस्तै वडा नम्बर ५ मा झिँ सामुदायिक विकास केन्द्र निर्माणका लागि ४ लाख ८० हजार रुपैयाँ, वडा नम्बर ७ मा सामुदायिक भवन निर्माणका लागि ८ लाख रुपैयाँ तथा अर्को टोल भवनका लागि ५ लाख रुपैयाँ, वडा नम्बर ८ मा झिङ्गखानी स्पोट्र्स युवा क्लब भवन निर्माणका लागि ९ लाख ९० हजार रुपैयाँ बजेट व्यवस्था गरिएको छ । वडा नम्बर ४ मा सिद्धभूमे आमा समूह भवनका लागि ५ लाख रुपैयाँ, वडा नम्बर ३ मा पातिकाल्ला आमा समूह भवनका लागि २ लाख रुपैयाँ तथा धाइरेखर्क आमा समूह भवनका लागि ५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
गाउँपालिकाको प्राविधिक शाखा प्रमुख कमल बहादुर चोखालका अनुसार ,आर्थिक वर्ष २०७८÷०७९ देखि हालसम्म गाउँपालिकाले २५ वटा विद्यालयको भवन निर्माण र १९ वटा विद्यालयको जिर्ण भवन मर्मत गरिएको छ । स्वास्थ्यतर्फ १३ भवन मर्मत र पाँच वटा नयाँ भवन निर्माण गरिएको छ ।४६ वटा सामुदायिक भवन निर्माण गरेको गाउँपालिकाले चार वटा वडा कार्यालयको भवन निर्माण गरेको छ । वडा कार्यालयको एक सभाहल निर्माण गरिएको छ । दुई वटा कोल्ड स्टोर निर्माण गरेको गाउँपालिकाले बहुउद्देश्यीय सभाहल सहितको भवन बनाएर सेवा प्रवाह गरिरहेको छ ।

गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले गाउँपालिकाले पूर्वाधार विकास समग्र आर्थिक र सामाजिक विकासको आधार भएकोले प्रशासकीय भवन निर्माणसँगै ग्रामीण सडक स्तरोन्नतिलाई उच्च प्राथमिकता दिएको बताउनुभयो । ‘सडक र भवन निर्माणमा गरिएको लगानीले शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन सबै क्षेत्रलाई गति दिन्छ। बजेटको प्रभावकारी कार्यान्वयन गरेर गाउँपालिकाबासीले प्रत्यक्ष अनुभूति गर्ने विकास गर्ने हाम्रो प्रतिबद्धता अनुसार दीर्घकालीन विकासको आधार तयार गर्ने लक्ष्य लिएका छौँ।’ ‘दुर्गम बस्तीमा पहुँच विस्तार र पुराना सडक सञ्चालनयोग्य राख्ने उद्देश्यले नयाँ निर्माणसँगै मर्मत कार्यक्रमलाई पनि प्राथमिकता दिएका छौँ,’ गाउँपालिका अध्यक्ष भण्डारीले थप्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले बजेट कार्यान्वयनमा गुणस्तर र समयसीमालाई विशेष प्राथमिकता दिइएको बताउनुभयो । उहाँले भन्नुभयो,‘योजना घोषणा गरेर मात्र पुग्दैन, नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी समयमै सम्पन्न गर्नु आवश्यक छ। त्यसका लागि नियमित अनुगमन र पारदर्शी कार्यान्वयनमा जोड दिइनेछ।’ यस वर्ष सडक मर्मत र नयाँ संरचना निर्माणलाई सन्तुलित रूपमा अघि बढाइएको उहाँको भनाइ छ । सडक र भवन पूर्वाधारको विस्तारसँगै रघुगंगाका बस्तीहरू केवल भौतिक रूपमा मात्र होइन, सेवा, अवसर र सम्भावनासँग पनि जोडिन थालेका छन्। दुर्गम भूगोलको परिचय बोकेको गाउँपालिका अहिले सुगमता र विकासको नयाँ यात्रामा अघि बढिरहेको छ।
विकासको अनुभूति गाउँमै
रघुगंगा गाउँपालिका–२,साँझपानीकी बिनिता भण्डारी सडक विस्तारको प्रत्यक्ष प्रभाव महसुस गर्ने स्थानीयमध्ये एक हुनुहुन्छ । उहाँका अनुसार पहिले धुलाम्मे, साँघुरो र अप्ठ्यारो सडकका कारण यात्रा कष्टकर थियो। अहिले सडक ढलान र स्तरोन्नति भएपछि आवतजावत निकै सहज भएको छ। यद्यपि उहाँ शिरशिरे डाँडासम्म सडक स्तरोन्नति गर्नुपर्ने आवश्यकता अझै रहेको बताउनुहुन्छ । यसैगरी दुर्गम वडा नम्बर ८ स्थित दुवादी टोल समितिका अध्यक्ष निरप्रसाद छन्त्यालले स्थानीय सरकार आएपछि गाउँमै सडक विस्तार हुँदा सहज भएको बताउनुभयो । ‘सडक नबन्दा सम्म बेनी जानआउन दुई दिन लाग्थ्यो पछि गाउँपालिकाले सडक निर्माण गरेपछि एक दिनमै बेनीसम्म ओहोरदोहोर गरिरहेका छौं,’उहाँले भन्नुभयो ,‘पहिरोका कारण बर्खाको समयमा यातायात अवरुद्ध हुँदा सास्ती खेपिरहेका छौं । यो सडक पनि बाह्रै महिना संचालनमा ल्याउन सके कृषि उत्पादन बजारमा लैजान सजिलो हुन्छ,बिरामीलाई अस्पताल पु¥याउन सहज हुन्छ र सरकारी सेवा लिन पनि सुविधा हुन्छ।’

मौवाफाँट–दग्नाम–दर्मीजा–चिमखोला–घ्यासीखर्क सडकअन्तर्गत औरी, बुग्ल र दग्नाम खण्डमा ढलान गरी सडक स्तरोन्नति भएपछि आवतजावतमा सहज र सुरक्षित भएको वडा नम्बर ४ का वडा अध्यक्ष पविन गर्बुजाले बताउनुभयो ।यसअघि कच्ची रहेको सडकलाई फराकिलो बनाउने, नाली तथा पर्खाल निर्माण गर्ने, ग्रेड र मोड सुधार गर्ने कामसँगै ढलान गरिएको छ । सडक स्तरोन्नतिसँगै दग्नाम, दर्मीजा, चिमखोला, घ्याँसीखर्क, मंगलेखानी, चौरखानी र पात्लेखर्कका बासिन्दालाई आवतजावतमा सहज र सुरक्षित भएको छ ।संघीय सरकारको करिब तीन करोड रुपैयाँ बजेटमा स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय कास्कीमार्फत योजना सम्पन्न भएको हो।

रघुगंगाको विकास यात्रा : सडक, स्वास्थ्य र शिक्षा पूर्वाधारमा फड्को
रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीकाले आर्थिक वर्ष २०७४ यता गाउँपालिकाले सडक, स्वास्थ्य, शिक्षा तथा सामुदायिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर उल्लेखनीय प्रगति हासिल गरेको बताउनुभयो। आठवटै वडामा सडक सञ्जाल विस्तार, स्वास्थ्य चौकी तथा सामुदायिक स्वास्थ्य इकाइ स्थापना, विद्यालय भवन निर्माण तथा सामुदायिक संरचना निर्माणका काम सम्पन्न गरिएको उहाँको भनाइ छ।अध्यक्ष भण्डारीका अनुसार गाउँपालिका गठन हुँदाका तुलनामा अधिकांश बस्तीमा सडक पहुँच विस्तार भएको छ। भगवती, पिप्ले, दग्नाम, चिम्खोला, कुइने, पाखापानी, ठाडाखानी लगायतका दुर्गम बस्ती सडक सञ्जालमा जोडिएका छन् भने कतिपय सडकमा ढलान तथा कालोपत्रे कार्यसमेत अघि बढिरहेको छ। टोड्के पर्यटन क्षेत्रसम्म सडक पहुँच विस्तार गरिएको छ भने कृषि तथा ग्रामीण सडकहरूको स्तरोन्नति निरन्तर भइरहेको छ।

स्वास्थ्य तथा शिक्षातर्फ विभिन्न वडामा स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य इकाइ र विद्यालय भवन निर्माण गरिएको छ। चिमखोलामा सुविधा सम्पन्न स्वास्थ्य चौकी निर्माण भएको छ भने विभिन्न विद्यालयमा कक्षाकोठा तथा अन्य शैक्षिक पूर्वाधार थपिएका छन्। सामुदायिक भवन, आमा समूह भवन, खेलमैदान, स्टेज तथा सार्वजनिक शौचालय निर्माणमार्फत सामाजिक गतिविधिलाई समेत प्रोत्साहन गरिएको उहाँले बताउनुभयो। अध्यक्ष भण्डारीका अनुसार गाउँपालिकाको दीर्घकालीन महत्वको योजनाका रूपमा मौवाफाँटमा प्रशासकीय भवन निर्माण भइरहेको छ। भवन सम्पन्न भएपछि नागरिकले एकै स्थानबाट छिटोछरितो र गुणस्तरीय सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ। पूर्वाधार विकासमार्फत ग्रामीण जनजीवनलाई सहज बनाउने र समग्र विकासको आधार तयार गर्ने लक्ष्यका साथ गाउँपालिकाले काम गरिरहेको उहाँको भनाइ छ।
‘उपभोक्ता समितिमा काम गर्दा चुनौती पनि, सिकाइ पनि’
गाउँपालिकामा सडक तथा भवन निर्माणका अधिकांश साना–मझौला योजनाहरू उपभोक्ता समितिमार्फत कार्यान्वयन हुने गरेका छन् । उपभोक्ता समितिमा काम गर्दा निर्माण सामग्री समयमै जुटाउने, श्रमिक व्यवस्थापन गर्ने, सिमित बजेट र प्राविधिक मापदण्ड अनुसार काम गर्नुपर्ने चुनौतीहरु रहने उपभोक्ता समितिका पदाधिकारीहरुले बताउने गरेका छन् । लागत अनुसार काम सम्पन्न गर्नुपर्ने र प्राविधिक मापदण्ड पालना गर्ने चुनौतीहरू रहेको कालाबाङ–ठाडाखानी सडक मर्मत योजना उपभोक्ता समिति अध्यक्ष गजेन्द्र शेरपुजा मगरले बताउनुभयो । उहाँका अनुसार एक हजार सात सय ४७ मिटर सडक मर्मत गरिएको छ । ‘काम गर्ने क्रममा धेरै समस्या भएपनि गाउँठाउँको विकासको लागि काम गर्नैप¥यो ,’अनुभव सुनाउँदै उहाँले भन्नुभयो ।

‘योजना सुरु गर्दा काम सहज होला भन्ने लाग्छ, तर सामग्री ढुवानी,स्थानीय जनशक्ति व्यवस्थापनले धेरै चुनौती आउँछन्। त्यसका बाबजुद आफ्नै गाउँको विकासका लागि काम गर्दा छुट्टै सन्तुष्टि मिल्छ ,’ वडा नम्बर ४ स्थित सिद्धेभुमे आमा समुह भवन निर्माण उपभोक्ता समिति अध्यक्ष मिना बुदुजाले भन्नुभयो । उक्त भवन निर्माणलाई गाउँपालिकाले चालु आर्थिक वर्षमा पाँच लाख बजेट विनियोजन गरेकोे थियो । भने वडा ,प्रवासमा रहेका दग्नामबासीको सहयोग र स्थानीयबासीको श्रमदानमा निर्माण भएको उक्त भवन निर्माणमा ४४ लाख रुपैयाँ लागत लागेको छ । ‘उपभोक्ता समितिमा काम गर्दा योजना सञ्चालन र समन्वय गर्ने महत्वपूर्ण अनुभव तथा सिकाइ प्राप्त भएको छ,’ भवन निर्माण उपभोक्ता समिति अध्यक्ष बुदुजाले भन्नुभयो । स्थानीयको श्रमदान र सहभागिताले योजना सम्पन्न गर्न सहज हुने भए पनि दुर्गम भूगोलका कारण ढुवानी खर्च र समय व्यवस्थापन मुख्य चुनौतीका रूपमा रहने गरेको उहाँको भनाइ छ ।
वडा नम्बर ८को दुवादीस्थित श्रीखर्क गोरेटो बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष रमेश छन्त्यालले कठिन तथा दुर्गम भूगोलका कारण निर्माण कार्यमा केही चुनौती भए पनि गाउँको विकासका लागि काम गर्दा सहज महसुस भएको बताउनुभयो । चार लाख रुपैयाँको लागतमा सिँढीसहित निर्माण गरिएको ३०० मिटर लामो उक्त गोरेटो बाटोले स्थानीयवासीको आवतजावतलाई सहज बनाएको छ ।
दुर्गम भूगोल र प्राकृतिक विपद्का चुनौती अझै कायम
प्राकृतिक, कृषि तथा पर्यटन सम्भावनाले भरिपूर्ण रघुगंगा गाउँपालिका दुर्गम भूगोल र प्राकृतिक चुनौतीका कारण अझै पनि विकासको गतिमा संघर्षरत छ । रघुगंगा गाउँपालिकाको दुर्गम भौगोलिक अवस्थाले पूर्वाधार निर्माण तथा विकास आयोजनाको कार्यान्वयनमा विभिन्न चुनौती थपेको छ। निर्माण सामग्री ढुवानीमा कठिनाइ र उच्च लागतका कारण योजनाको लागत बढ्ने गरेको छ भने वर्षायाममा आउने पहिरो, बाढी तथा सडक अवरोधले निर्माण कार्य प्रभावित हुने गरेको छ।सडक, शिक्षा, स्वास्थ्य र खानेपानीका क्षेत्रमा लगानी बढाइए पनि भिरालो भू–भाग, पहिरो र बाढीका कारण विकास निर्माणका काम प्रभावित हुने गरेको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीको भनाइ छ । कतिपय वडासम्म सडक पहुँच सीमित भएकाले निर्माण सामग्री तथा उपकरण पु¥याउन समस्या हुने गरेको उहाँले बताउनुभयो । विकट बस्तीमा निर्माण सामग्री ढुवानी र जनशक्ति व्यवस्थापन नै ठूलो समस्या रहेको वडा नम्बर ८ का वडा अध्यक्ष गमान छन्त्यालले बताउनुभयो । साथै, निर्माण सामग्रीको मूल्य र ढुवानी खर्च बढी हुँदा योजनाको प्रभावकारी कार्यान्वयनमा थप दबाब पर्ने गरेको उहाँको भनाइ छ ।

धवलागिरि आइसफल, टोड्के, रुईसे, रिखार मन्दिर तथा दर्मिजा तातोपानी कुण्डजस्ता पर्यटकीय गन्तव्य रहेको रघुगंगामा पर्यटन, कृषि र जलस्रोत विकासका प्रशस्त सम्भावना भए पनि ती सम्भावनालाई पूर्ण रूपमा उपयोग गर्न पूर्वाधार विस्तार अपरिहार्य देखिएको छ । गाउँपालिकामा दक्ष प्राविधिक जनशक्ति तथा निर्माण श्रमिकको अभाव, सीमित बजेट र प्रतिकूल मौसमका कारण निर्माण अवधि छोटो हुनु पनि प्रमुख चुनौतीका रूपमा रहेका छन्। दुर्गम योजनास्थलको नियमित अनुगमन तथा गुणस्तर नियन्त्रण गर्न कठिनाइ हुने गरेको छ ।

सुझाव
–निर्माण भएका सडक तथा भवनहरूको दिगोपनाका लागि नियमित मर्मत–सम्भारलाई प्राथमिकता दिनुपर्छ।
–पहिरो र प्राकृतिक विपद्को उच्च जोखिम रहेका क्षेत्रमा पूर्वाधार निर्माणसँगै जोखिम न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्न आवश्यक छ।
–दुर्गम बस्तीमा सडक पहुँच विस्तारसँगै स्वास्थ्य, शिक्षा, खानेपानी र सञ्चार सेवाको गुणस्तर सुधारमा समान ध्यान दिनुपर्छ।
–कृषि, पर्यटन र जलस्रोतका सम्भावनालाई आर्थिक अवसरमा रूपान्तरण गर्न पूर्वाधारलाई उत्पादन र बजारसँग जोड्ने नीति अवलम्बन गर्नुपर्छ।
–उपभोक्ता समितिमार्फत सञ्चालन हुने योजनामा पारदर्शिता, प्राविधिक गुणस्तर र प्रभावकारी अनुगमनलाई थप सुदृढ बनाउनुपर्छ।
निष्कर्ष
रघुगंगा गाउँपालिकाले पछिल्ला वर्षहरूमा सडक, भवन तथा सामुदायिक पूर्वाधार निर्माणमार्फत दुर्गम बस्तीको जनजीवनमा सकारात्मक परिवर्तन ल्याएको छ। यातायात पहुँच विस्तार, सेवा प्रवाहमा सहजता र सामाजिक–आर्थिक गतिविधिमा वृद्धि हुनु विकासका महत्वपूर्ण उपलब्धि हुन्। तथापि, दुर्गम भूगोल, प्राकृतिक विपद् र स्रोत व्यवस्थापनका चुनौती अझै बाँकी रहेकाले दिगो तथा गुणस्तरीय पूर्वाधार विकासलाई निरन्तरता दिँदै कृषि, पर्यटन र स्थानीय उत्पादनसँग जोडिएको समावेशी विकासमा जोड दिन आवश्यक देखिन्छ ।

नोट ः यो पालिकाको फेलोशिप लेखन अन्तर्गत तयार पारिएको हो ।





































