
पर्वत । पर्वतको फलेवास नगरपालिका–१० कुर्घामा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालकसहित चार जना घाइते भएका छन् । आइतबार दिउँसो करिब २.३० बजे लुङ्खुबाट बाच्छातर्फ जाँदै गरेको ध १ ह ६१ नम्बरको अटो ओरालो सडकमा अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेको थियो ।
दुर्घटनामा बिहादी गाउँपालिका–१ बाच्छा देउरालीका ४९ वर्षीय प्रेमबहादुर विक गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि प्रदेश अस्पताल कुश्मा लगिएकोमा उपचारकै क्रममा दिउँसो ३.३९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा अटो चालक फलेवास नगरपालिका–११ पाङग्राङका ३६ वर्षीय मनबहादुर परियारसहित बिहादी–१ की २४ वर्षीया कविता विक, १५ वर्षीया अन्जुली विक र १३ वर्षीया दुर्गा विक घाइते भएका छन् ।
घाइते चारै जनाको प्रदेश अस्पताल कुश्मामा उपचार भइरहेको छ । दुर्घटनाको कारण र घटनासम्बन्धी थप विवरणबारे अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।




































