वेगखोला युवा समूह पोखराको अध्यक्षमा टीका पुर्जा थजाली निर्वाचित

  धनिलाल गर्बुजा

पोखरा । वेगखोला युवा समूह पोखराको प्रथम अधिवेशनबाट टीका पुर्जा थजाली अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न अधिवेशनले थजालीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । अधिवेशनबाट सौभाग्य पुर्जा र तुलकुमारी तिलिजा उपाध्यक्ष, पुष्पा बुदुजा गर्वुजा सचिव, प्रियंका गर्वुजा सहसचिव, शुभ तिलिजा कोषाध्यक्ष र जोनिस पुर्जा सहकोषाध्यक्षमा चयन हुनुभएको छ ।

त्यस्तै निशा बुदुजा सांस्कृतिक सचिव, करिष्मा पाइजा गर्वुजा सहसांस्कृतिक सचिव, सूर्य गर्वुजा र सफल थजाली सांस्कृतिक सचिव, पुष्पा सिंजाली खेलकुद सचिव, प्रजल पाइजा खेलकुद सहसचिव, प्रविन फगामी आर्थिक सचिव, आकाश पुर्जा आर्थिक सहसचिव, सनम गर्वुजा व्यवस्थापन सचिव तथा सुना राना बुदुजा व्यवस्थापन सहसचिवमा निर्वाचित हुनुभएको छ ।

सदस्यहरूमा सिवानी फगामी, सोनिया गर्वुजा, ज्योती थापा, सहरा गर्बुजा, सफल फगामी, विश्वास पुर्जा, रिया पुर्जा, नकुल पुर्जा, प्रिति पुन र किस्मा विश्वकर्मा चयन हुनुभएको छ ।

वेगखोला कल्याणकारी समाज पोखराका अध्यक्ष तथा निर्वाचन सदस्य यामकुमार पुर्जाको अध्यक्षतामा सम्पन्न अधिवेशनको निर्वाचन संयोजक योगकुमार फगामी तथा निर्वाचन सदस्य मेजन पुनले निर्वाचन प्रक्रिया सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा संयोजक फगामीले स्वागत गर्दै अधिवेशनको उद्देश्यबारे जानकारी गराउनुभएको थियो । वेगखोला कल्याणकारी समाज पोखरा आमा समूहकी अध्यक्ष श्यामकुमारी तिलिजा र समाजका वरिष्ठ उपाध्यक्ष टीकबहादुर फगामीले नवनिर्वाचित समितिलाई शुभकामना दिनुभएको थियो ।

निर्वाचन संयोजक फगामीले सर्वसम्मत निर्वाचित पदाधिकारी तथा सदस्यहरूको नामावली घोषणा गरेपछि आमा समूहले खादा लगाएर सम्मान गर्दै पदाधिकारीलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

नवनिर्वाचित अध्यक्ष थजाली र सहसचिव प्रियंका गर्वुजाले युवाहरूलाई संगठित गर्दै सामाजिक, खेलकुद तथा रचनात्मक गतिविधिमा सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

यस अवसरमा खेलकुद सचिव पुष्पा सिंजालीलाई ‘हनरी क्याप्टेन’ प्रतापकुमार गर्वुजाले एक थान भलिबल र पम्प प्रदान गर्नुभएको थियो । उहाँले खेलकुद क्षेत्रको अनुभव सुनाउँदै नवनिर्वाचित अध्यक्ष थजालीलाई संस्थाको विधानसमेत हस्तान्तरण गर्नुभएको थियो ।

अधिवेशनका अवसरमा युवा समूहलाई विभिन्न सहयोगसमेत प्राप्त भएको छ । निर्वाचन संयोजक योगकुमार फगामीले ५ हजार रुपैयाँ, आमा समूहले २५ हजार रुपैयाँ र वेगखोला कल्याणकारी समाज पोखराले ५० हजार रुपैयाँ सहयोग गरेका छन् । सभाध्यक्ष यामकुमार पुर्जाले एक थान बास्केटबल प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा बेलायतबाट पारिवारिक बिदामा नेपाल आउनुभएका रुकबहादुर फगामी र आशामाया फगामीलाई खादा, भाङ्ग्रा तथा सल ओढाएर स्वागत तथा सम्मान गरिएको थियो । उहाँहरूका तर्फबाट आमा समूहलाई १८ हजार रुपैयाँ सहयोगसमेत प्रदान गरिएको थियो ।

कार्यक्रम समापन गर्दै सभाध्यक्ष पुर्जाले अधिवेशनलाई युवाहरूलाई लक्षित महत्वपूर्ण कार्यक्रमका रूपमा लिनुपर्ने बताउँदै नवनिर्वाचित समितिलाई सफल कार्यकालको शुभकामना दिनुभएको थियो । सहभागीहरूका लागि जलपान तथा खानपिनको व्यवस्था वेगखोला कल्याणकारी समाज पोखरा आमा समूहले गरेको थियो ।

अधिवेशनलाई मनोरञ्जनात्मक बनाउन बालबालिकाले कविता तथा गीत प्रस्तुत गरेका थिए । नृत्य कलाकार निशा बुदुजाको नृत्य तथा सूर्य गर्वुजाको स्टेज प्रस्तुतिले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार