भदौ २९, मुस्ताङ । हिमालपारिको जिल्ला मुस्ताङमा क्रियाशील पत्रकार सुन्दरकुमार थकालीलाई समाचार प्रकाशन तथा प्रसारणकै विषयलाई लिएर गालीगलौजसहित ज्यान मार्ने धम्की आएको भन्दै प्रहरीमा उजुरी परेको छ। नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका सदस्य तथा राष्ट्रिय समाचार समिति (रासस)का मुस्ताङ संवाददाता थकालीले आफूलाई सामाजिक सञ्जाल ह्वाट्सएपमार्फत अपशब्द प्रयोग गर्दै ज्यान मार्ने धम्की दिइएको भन्दै सोमबार जिल्ला प्रहरी कार्यालय मुस्ताङमा उजुरी दिनुभएको हो ।
गत भदौ २८ गते समाचारकै विषयलाई लिएर ह्वाट्सएपमार्फत गालीगलौज र ज्यान मार्ने धम्की आएको थकालीले बताउनुभयो । घटनाले आफ्नो व्यक्तिगत सुरक्षाका साथै स्वतन्त्र र निर्भीक रूपमा पत्रकारिता गर्ने वातावरणमाथि समेत चुनौती उत्पन्न भएको उहाँको भनाइ छ ।
ई–मुस्ताङ न्युज डटकमका सञ्चालकसमेत रहनुभएका थकालीले छेतेन गुरुङको नाममा रहेको मोबाइल नम्बर ९८६७६९१५२९ बाट धम्की तथा गालीगलौज गरिएको दाबी गर्नुभएको छ । उहाँले घटनाको निष्पक्ष अनुसन्धान गरी धम्की दिने व्यक्तिको पहिचान गरेर प्रचलित कानुनबमोजिम कारबाही गर्न माग गर्नुभएको छ ।
उजुरीमार्फत धम्की दिन प्रयोग गरिएको सञ्चारमाध्यम, धम्कीको प्रकृति तथा घटनासँग सम्बन्धित अन्य विवरणबारे अनुसन्धान गर्न प्रहरीसँग आग्रह गरिएको छ । घटनाबारे जिल्ला प्रशासन कार्यालय मुस्ताङ, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति र महासंघको केन्द्रीय कार्यालयलाई समेत जानकारी गराइएको छ ।
पत्रकारलाई समाचार प्रकाशन तथा प्रसारणकै विषयमा धम्की, गालीगलौज र मानसिक दबाब दिने कार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर असर पार्ने नेपाल पत्रकार महासंघका पदाधिकारीहरूले बताएका छन् । उनीहरूले घटनाको तत्काल छानबिन गरी पत्रकारको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।
उजुरी दर्ता गराउन नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाका संस्थापक अध्यक्ष भीमबहादुर रसाइली, शाखा अध्यक्ष सुनदेवी रसाइली, सचिव आदित्य रसाइली, कोषाध्यक्ष निरज थकाली, निवर्तमान सचिव सुशील थकाली, पत्रकार सुन्दरकुमार थकाली र मनीता थकाली जिल्ला प्रहरी कार्यालय पुग्नुभएको थियो ।
टोलीले पत्रकार थकालीलाई धम्की दिने व्यक्तिमाथि तत्काल अनुसन्धान गरी कानुनी कारबाही गर्न प्रहरीसमक्ष माग गरेको छ । पत्रकार महासंघले घटनालाई गम्भीर रूपमा लिँदै निष्पक्ष छानबिन तथा दोषीमाथि कानुनी कारबाही हुनुपर्नेमा जोड दिएको छ ।
समाचारकै विषयमा पत्रकारलाई लक्षित गरी धम्की दिने प्रवृत्तिले नागरिकको सूचनाको अधिकार, प्रेस स्वतन्त्रता तथा लोकतान्त्रिक अभ्यासमा समेत नकारात्मक प्रभाव पार्न सक्ने भएकाले घटनाको निष्पक्ष अनुसन्धान आवश्यक रहेको महासंघको भनाइ छ । स्रोतः सुन्दरकुमार थकाली














