
म्याग्दी । नेपाली भाषा शुद्ध, स्पष्ट र प्रभावकारी रूपमा पढ्ने सीप विकास गर्ने उद्देश्यले म्याग्दीमा जिल्लास्तरीय पढाइ सीप प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रिय शिक्षा दिवसको अवसरमा शिक्षा विकास तथा समन्वय इकाइ, म्याग्दीको आयोजनामा भएको प्रतियोगितामा कक्षा १ देखि ५ सम्मका २८ विद्यार्थी सहभागी भएका थिए ।

विद्यार्थीको पठन सीपलाई प्रारम्भिक तहदेखि नै सुधार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ । माथिल्ला कक्षामा पुगेपछि पनि नेपाली भाषाका पाठ तथा पाठ्यसामग्री शुद्ध र स्पष्ट रूपमा पढ्न नसक्ने समस्या देखिने भएकाले आधारभूत तहदेखि नै पठन सीप विकासमा जोड दिइएको हो ।

प्रतियोगितामा जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थी सहभागी भएका थिए । विद्यालयस्तरीय प्रतियोगिताबाट छनोट भएका विद्यार्थीलाई पालिका र पालिकाबाट छनोट भएकालाई जिल्लास्तरीय प्रतियोगितामा सहभागी गराइएको थियो । उत्कृष्ट पठन सीप भएका विद्यार्थीलाई प्रोत्साहन गर्नुका साथै अन्य विद्यार्थीलाई पनि पठन सीप विकासका लागि प्रेरित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ ।

कक्षा १ तर्फ अन्नपूर्ण गाउँपालिकास्थित सर्वोदय माध्यमिक विद्यालयकी सुप्रिना सुनार प्रथम, धवलागिरी गाउँपालिकाकी सेजा थापा दोस्रो र बेनी नगरपालिकास्थित बेनी सामुदायिक माध्यमिक विद्यालयका उत्सव सापकोटा तेस्रो भएका छन् ।
कक्षा २ मा बेनी नगरपालिकास्थित लिटल गार्डेन एकेडेमीकी सभ्यता भण्डारी प्रथम, मंगला गाउँपालिकास्थित शारदा माध्यमिक विद्यालयका अजन घर्ती दोस्रो र मालिका गाउँपालिकास्थित रुम इङ्लिस बोर्डिङ स्कुलकी सीमा सेन्चुरी तेस्रो भएका छन् ।

कक्षा ३ तर्फ लिटल गार्डेन एकेडेमीकी जेनिसा कुँवर प्रथम, मालिका गाउँपालिकास्थित मालिका आधारभूत विद्यालयका प्रिन्स रोका दोस्रो र सोही विद्यालयका निरोज छन्त्याल तेस्रो स्थान प्राप्त गरेका छन् ।
त्यस्तै, कक्षा ४ मा धवलागिरी गाउँपालिका–७, ताकमस्थित धवलागिरी एकेडेमीकी आरोही गुरुङ प्रथम, लिटल गार्डेन एकेडेमीका साहित्य रेग्मी दोस्रो र मालिका गाउँपालिकास्थित देउराली माध्यमिक विद्यालयका विद्यार्थी तेस्रो भएका छन् ।

कक्षा ५ तर्फ बेनी नगरपालिकास्थित माउन्ट एभरेस्ट आवासीय माध्यमिक विद्यालयकी अनिस्का विक प्रथम, रघुगंगा गाउँपालिकास्थित मालिका आधारभूत विद्यालयका योगेश पुन दोस्रो र धवलागिरी गाउँपालिका–४, सिवाङस्थित हेम माध्यमिक विद्यालयका आविष्कार सुवेदी तेस्रो भएका छन् ।
जिसस कार्यवाहक प्रमुख दिलकुमारी खत्री, बेनी नगरपालिका मेयर सुरत केसी र उपमेयर ज्योति लामिछानेले प्रतियोगिताका विजेतालाई नगद पुरस्कारसहित प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
प्रतियोगिताले विद्यार्थीको पठन सीपसँगै आत्मविश्वास बढाउन र प्रतिभा प्रस्फुटनमा समेत सहयोग पुर्याउने शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख मतिलाल चपाईंले बताउनुभयो । उहाँले शैक्षिक गुणस्तर सुधारलाई दिगो बनाउन यस्ता कार्यक्रमलाई व्यावहारिक सिकाइसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।




































