म्याग्दी । पाठेघरको मुखको क्यान्सरको जोखिम न्यूनीकरणका लागि मालिका गाउँपालिकामा एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) खोप कार्यक्रम सञ्चालनको तयारी तीव्र पारिएको छ । नियमित खोप कार्यक्रमलाई प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यले शुक्रबार दरबाङ आधारभूत अस्पतालको आयोजनामा वडा स्तरीय योजना तर्जुमा गोष्ठी सम्पन्न भएको हो ।

दरबाङस्थित हिमाल होटलको सभा हलमा सम्पन्न गोष्ठीमा एचपीभी संक्रमण, यसको जोखिम, खोपको महत्व तथा लक्षित समूहसम्म खोप सेवा पुर्याउने उपायबारे छलफल गरिएको थियो ।
गोष्ठीमा दरबाङ आधारभूत अस्पतालका जनस्वास्थ्य निरीक्षक यमन नेपालीले एचपीभी भाइरस, संक्रमणका माध्यम, खोपको प्रभावकारिता तथा खोप कार्यक्रम सञ्चालनको प्रक्रियाबारे जानकारी गराउनुभएको थियो । एचपीभी संक्रमणबाट हुने पाठेघरको मुखको क्यान्सरको जोखिम घटाउन खोप महत्वपूर्ण रोकथामका उपायमध्ये एक भएको उहाँले बताउनुभयो ।

कार्यक्रममा लक्षित बालिकाको पहिचान, खोप केन्द्र व्यवस्थापन, स्वास्थ्यकर्मी तथा विद्यालयको भूमिका, अभिभावक र समुदायमा सूचना प्रवाह तथा खोप अभियानमा आवश्यक समन्वयलगायत विषयमा छलफल भएको थियो । विद्यालय तथा समुदायस्तरमा एचपीभी खोपबारे पर्याप्त जानकारी पुर्याएर लक्षित बालिकालाई सहज र सुरक्षित रूपमा खोप लगाउने वातावरण बनाउनुपर्नेमा जोड दिइएको थियो ।

गोष्ठीले गाउँपालिकाका विभिन्न विद्यालय तथा स्वास्थ्य संस्थामा एचपीभी खोप सेसन सञ्चालन गर्ने तालिकासमेत तय गरेको छ । तालिकाअनुसार असोज ५ गते मालिका आधारभूत विद्यालय, दुःखुका लागि दुःखु सामुदायिक स्वास्थ्य इकाईमा तथा असोज ६ गते भगवती आधारभूत विद्यालय, दिच्यामका लागि दिच्याम सामुदायिक स्वास्थ्य इकाईमा खोप सञ्चालन हुने छ ।

त्यस्तै, असोज ८ गते जनप्रिय माध्यमिक विद्यालय, छ्यारछ्यारे, असोज ९ गते केबी बोर्डिङ स्कुल, असोज १२ गते दरबाङ इङ्लिस बोर्डिङ स्कुल र असोज १३ गते फ्युचर स्टार मन्टेसरीमा खोप सेसन सञ्चालन गर्ने योजना बनाइएको छ ।
एचपीभीका उच्च जोखिमयुक्त प्रकारमध्ये १६ र १८ को संक्रमण पाठेघरको मुखको क्यान्सरसँग सम्बन्धित रहेको चिकित्सकीय तथ्य छ । एचपीभीविरुद्धको खोपले संक्रमण तथा त्यससँग सम्बन्धित क्यान्सरको जोखिम घटाउन मद्दत गर्ने भएकाले लक्षित समूहमा खोपको पहुँच बढाउन नियमित खोप कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने स्वास्थ्यकर्मीले बताएका छन् ।
मालिका गाउँपालिकाकी वडा सचिव विष्णुमाया आचार्यको अध्यक्षतामा भएको गोष्ठीमा स्वास्थ्यकर्मी, शिक्षक तथा सम्बन्धित सरोकारवालाको सहभागिता थियो ।














