शालीग्राम लघुवित्त वित्तीय संस्थाको कारोबार सुरु

बेनी ,बुधबार पौष १६ गते ।
म्याग्दीको बेनी नगरपालिका–७ मंगलाघाटमा प्रधान कार्यालय रहेको शालीग्राम लघुवित्त वित्तीय संस्था लिमिटेडले कारोबार सुरु गरेको छ ।

म्याग्दीका ब्यापारी, शिक्षक, उद्यमी, निर्माण व्यवसायी र सर्वसाधारणले सञ्चालन गरेको शालीग्राम जिल्लाकै पहिलो लघुवित्त संस्था हो । आर्थिक र बैकिङ क्षेत्रमा पछि परेका सिमान्तकृत समुदायको आयआर्जन सशक्तिकरण र गरिवि न्युनीकरण गर्ने उद्देश्यले लघुवित्त सञ्चालन गरिएको अध्यक्ष कृष्णबहादुर थापाले बताउनुभयो ।

बेनीमा मंगलबार पत्रकार भेटघाट आयोजना गरेर संस्थाले आफ्ना गतिबिधि जानकारी गराएको हो । २०७५ साउन २७ गते नेपाल राष्ट्र बैङ्कबाट बाट ९घ० वर्गको वित्तीय कारोबार गर्ने संस्थाको रुपमा अनुमति पाएको थियो ।

४० जनाको एक करोड ६८ लाख १७ हजार रुपैया संस्थापक सेयर लगानी रहेको संस्थाले ८२ लाख ८३ हजार रुपैयाँ साधारण सेयर रकम जुटाउन आइपिओमा जाने तयारी गरेको छ । बेनीको केन्द्रीय कार्यालयका साथै पर्वतको जलजला, कास्कीको लाहचोक, तनहुको खैरेनीटार, नवलपुरको प्रगतिनगर, सर्दीमा शाखा कार्यालयबाट सेवा उपलब्ध गराएको छ ।

२०७६ मंसिर सम्म ३५ वटा केन्द्र र ६२ वटा समूहमा २६५ जना सदस्यलाई एक करोड ६५ लाख ३७ हजार रुपैयाँ लगानी गरेको छ । हाल २६ लाख ८३ हजार रुपैया सदस्यहरुबाट बचत संकलन गरेको छ ।

सामुहिक जमानिका आधारमा एक जना सदस्यलाई एक हजार देखि तीन लाख रुपैयाँ सम्म कर्जा उपलब्ध गराउने संस्थाका प्रमुख कार्यकारी अधिकृत मनोजप्रसाद निरौलाले बताउनुभयो । कुल लगानीको एक तीहाई कृषि क्षेत्रमा लगानी गरिएको छ । कर्जामा १८ प्रतिशत र निक्षेपमा ७ देखि ९ प्रतिशत ब्याजदर रहेको छ ।

दुई देखि ४० जना सम्मको सदस्य बनाएर संस्थाको केन्द्रमा आवद्ध हुन सकिन्छ । महिला सदस्यहरुलाई बिनाधितो कर्जा उपलब्ध गराइने संस्थाका सञ्चालक ज्ञानेन्द्र सुवेदीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार