माउण्ट एभरेष्ट आवासीय माविको पुरानो भवनलाई अस्थाई अस्पताल बनाइने


बेनी, शुक्रबार चैत ०७ गते । बेनीमा विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितका लागि दश शैया क्षमताको अस्थायी अस्पताल तयार पारिने भएको छ ।

प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालको अध्यक्षतामा शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाहरुको वैठकले अस्थायी अस्पताल बनाउने निर्णय गरेको हो । शनिबार बेलुका सम्म अस्पताल तयार हुने प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिनुभयो ।

बेनी नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, म्याग्दी उद्योग वाणिज्य संघ र बेनी अस्पतालका प्रतिनिधिहरु सम्मिलित वैठकले म्याग्दी बहुमुखी क्याम्पस नजिक रहेको माउन्ट एभरेष्ट बोर्डिङ स्कुलको पुरानो भवनलाई मर्मत सम्भार र रङरोगन गरी अस्थाई अस्पतालका रुपमा प्रयोग गर्ने निर्णय गरेको हो ।

भवनमा रहेका पाँच कोठामा १० बेड राखिने छन् । सरोकारवालाको आग्रह अनुसार अस्थाई अस्पताल बनाउन भवन दिइएको माउन्ट एभरेष्ट आवासीय माविका सञ्चालकहरुले बताउनु भएको छ ।

भवनको सरसफाई र आवश्यक पूर्वाधार निर्माण गर्न नेपाली सेनालाई जिम्मेवारी दिइएको छ । नेपाली सेनाले शनिबार बेलुका सम्म अस्पताल तयार पार्ने छ । कोभिड– १९ भाइरसबाट संक्रमितहरुको उपचारमा सहज होस भनेर छुट्ै अस्पताल बनाउन लागिएको बेनी अस्पतालका डाक्टर मनोज घिमिरेले बताउनुभयो ।

आकस्मिक रुपमा संक्रमितहरु देखा परेमा तत्काल राखेर उपचार गर्न सहज होस भनेर अस्पताल बनाउन लागिएको डाक्टर घिमिरेले बताउनुभयो । अस्पतालमा १० बेडको आईसीयुलेशन कक्ष हुने छ ।

कोरोना भाइरसका विरामीको आकस्मिक उपचारका लागि बेनी अस्पतालले पूर्व तयारीका रुपमा अस्पताल बनाउन लागिएको अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो ।

विश्वका एक सय भन्दा बढी देशमा फैलिएको कोरोना भाइरस हालसम्म नेपालमा भित्रिएको छैन् । छिमेकी देश चिनको उहान प्रान्तबाट सुरु भएको कोरोना नेपालमा भित्र्न नदिन सरकारले उच्च सतर्कताको उपाय अपनाएको छ ।

दश हजार भन्दा बढी मानिसको ज्यान लिइसकेको कोरोनाको हालसम्म औषधि पहिचान भएको छैन् । तर कोरोनाका बिरामी उपचारपछि निको भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार