घर बनाएपनि अनुदान नपाएको भुकम्प पिडितको गुनासो

बेनी मंगलबार माघ २२ गते । म्याग्दीका भुकम्प पिडितहरुले निजी आवास पुननिर्माण गरेपनि राष्ट्रिय पुननिर्माण प्राधिकरण मार्फत सरकारले उपलब्ध गराउने अनुदान नपाएको गुनासो गरेका छन् ।

प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाइले बेनी नगरपालिका र नेपाल पत्रकार महासंघ सँगको समन्वयमा मंगलबार बेनीमा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा भुकम्प पिडितहरुले झञ्जटिलो प्रक्रियाका कारण पिडा माथि पिडा थपिएको बताएका थिए ।

बेनीमा प्राधिकरणको कार्यालय स्थापना हुनुअघिनै घर बनाइसकेको, कार्यालय स्थापना भएपछि पनि समयमै प्राबिधिक सेवा नपाएका कारण तोकिएको मापदण्ड पुरा गर्न नसकेका कारण दोस्रो र तेस्रो किस्ता अनुदान पाउनबाट बञ्चित भएको अधिकांशको गुनासो थियो ।

सहभागिहरुको गुनासो र प्रश्नको जवाफ दिदै जिल्ला आयोजना कार्यान्वयन इकाइका प्रमुख शिवराम गेलालले थप किस्ताको अनुदान पाउनका लागि बनिसकेका घरलाई मर्मत गरेर मापदण्ड पुरा गर्नुपर्ने र प्रवलिकरण गरेर एक लाख मात्र अनुदान लिन पाउने बताउनुभयो ।

निर्माणाधिन निजी आवासहरुलाई आगामी असार सम्म सम्पन्न गराउनुपर्ने बताउँदै गेलालले घर नबनाउनेहरुले पहिलो किस्ता वापतको अनुदान फिर्ता गर्नुपर्ने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बेनी नगरपालिका क्षेत्रमा प्रवलीकरण गरे हुने घर भएकाले पनि पूर्ण क्षति भएको विवरण टिपाएर अनुदानको दुरुपयोग गर्न खोजेको उजुरी छानविन गर्दा पुष्टी भएकालाई अनुदान रोकिएको बताउनुभयो ।

प्राधिकरणको फैसला चित्त नबुझे पुनरावेदन गर्ने विकल्प रोज्न त्यस्ता पिडितलाई सुझाव दिनुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले पुननिर्माणलाई तिब्रता दिएर अनुदानको सदुपयोग गर्न र दुरुपयोग रोक्न सबै जिम्मेवार बन्नुपर्ने बताउनुभयो । वाइट

कार्यक्रमको अध्यक्षता गर्नुभएका नगरप्रमुख हरिकुमार श्रेष्ठले भुकम्प पिडितको समस्या समाधानका लागि सहजिकरण र समन्वय गरिएको बताउँदै राज्यको मापदण्ड पुरा गर्नु लाभग्राहीको दायीत्व हुने स्पष्ट पार्नुभयो ।

म्याग्दीमा ७८४ जनालाई प्रथम किस्ता अनुदान उपलब्ध गराएकोमा हालसम्म निजी आवास पुननिर्माण सकेर तेस्रो किस्ता लिने पिडितको संख्या १६५ जना मात्र रहेको कार्यक्रममा जानकारी गराइएको थियो ।

२८७ जनाले दोस्रो किस्ता लिएपनि आधा भन्दा बढी पिडित पहिलो किस्ता लगेपछि सम्र्पकमै आएका छैनन् । २०७३ पुषमा इञ्जिनियरहरु परिचालन गरेर एक हजार ३५० जना लाभग्राहीको घर सर्वेक्षण गरिएको थियो । जस मध्य ८६८ जना लाभग्राही पहिचान भएका थिए ।
७ जना प्रवलिकरणमा छन भने ४२५ जनाले सूचिमा नाम छुटेको भन्दै गुनासो दर्ता गराएपनि प्रक्रिया अघि नबढ्दा ढिलासुस्ती भएको बेनपा ५ का वडा अध्यक्ष लक्ष्मण बानियाले बताउनुभयो ।

समयमै प्राबिधिक सेवा नपाएका कारण धेरै पिडितहरुले आफ्नै तरिकाले घर बनाएको तर अहिले मापदण्ड अनुसार नभएपछि समस्यामा परेको बेनपा ५ का खेमराज शर्माले बताउनुभयो । डिलु बिटालुले सञ्चालन, पत्रकार सन्तोष गौतम र ठाकुरप्रसाद आचार्यले सहजिकरण गर्नुभएको कार्यक्रममा आयोजना प्रमुख गेलालले म्याग्दीमा पुननिर्माण गतिबिधि जानकारी गराउनुका साथै सहभागिहरुलाई स्वागत गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार