युवाहरुद्धारा ज्यामरुककोटका तीन अतिविपन्नलाई आर्थिक सहयोग

धु्रबसागर शर्मा
म्याग्दी बुधबार फागुन २९ गते ।
म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको सानालेखमा रहेको लेखसाइड युथ क्लवले आफ्नो वडा भित्रका ३ जना अतिविपन्न परिवारलाई जनही ५÷५ हजार रुपैयाँ सहयोग गर्ने भएको छ ।

लेखसाइड युथ क्लवमा आवद्ध युवाहरुले देश विदेशमा रहेका ज्यामरुककोटेहरुबाट सहयोग संकलन गरी विभिन्न सामाजिक कार्यहरुका अतिरिक्त गरिब,बिमारी र बेसहारा व्यक्तिहरुलाई सहयोग गर्ने भएका हुन् ।

गत सोमबार सम्पन्न दोस्रो महाशिवरात्री मेलाबाट बचेको रकम वडाका तीन जना अति विपन्न परिवारलाई जनही रु ५÷५ हजारका दरले सहयोग प्रदान गर्ने निर्णय भएको लेखसाइड युथ क्लवका अध्यक्ष कृष्णबहादुर थापाले बताउनुभयो ।

थापाका अनुसार आफ्ना छोरा बुहारीले २ जना नाति सहित छोडेर गएपछि बेसहारा बनकी जमुना विकलाई रु ५ हजार,गत असोजमा घरलिप्ने रातो माटो खन्ने क्रममा मड्किनोमा पुरिएर मृत्यु भएकी कल्पना बोहोराको परिवारलाई रु ५ हजार र बेनपा २ गौश्वारा निवासी भद्रवहादुर किसानको परिवारलाई रु ५ हजार सहयोगको निर्णय गरिएको र सो रकम छिटै पीडितका परिवारलाई उपलव्ध गराइने उहाँले बताउनुभयो ।

युवा क्लवमा आवद्ध युवाहरुले परम्परागत संस्कृतिको संरक्षण र खेलकुदको विकास गर्ने उद्धेश्यले गाउँमा खेलमैदान र युवा क्लवको आफ्नै भवन समेत निर्माण गरेका छन् ।

गाउँमा रहेका र गाउँबाट देश विदेशका विभिन्न स्थानहरुमा अध्ययन वा रोजगारीका लागि गएका युवाहरुबाट सहयोग जुटाएको रु दुईलाख र बाँकी श्रमदान गरेर प्याराफिट सहितको खेल मैदान निर्माण गरेको अध्यक्ष थापाले जानकारी दिनुभयो ।

अध्यक्ष थापाले दिएको जानकारी पाँच दिनसम्म संचालन भएको महाशिवरात्री मेलामा रत्यौलीगीत प्रतियोगिता,छेलो,लठो तान्ने,खुल्ला भलिवल लगाएतका प्रतियोगिताहरु आयोजना गरिएको थियो ।

कार्यक्रम सम्पन्न गर्नका लागि देश विदेशमा रहेका ज्यामरुककोटवासीहरुबाट करिब ५ लाख रुपैयाँ सहयोग प्राप्त भएको अध्यक्ष थापाले बताउनुभयो । ‘आफ्नो गाउँमा संस्कृति संरक्षणका लागि मेलाको आयोजना गरिएको खुसीमा देश विदेशमा रहेका ज्यामरुककोटवासीहरुबाट स्वतस्फुर्तरुपमा उल्लेख्य सहयोग प्राप्त भएको छ’ अध्यक्ष थापाले भन्नुभयो ‘यसबाट हामीलाई झन हौंसला मिलेको छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार