चालकको स्वास्थ्य परिक्षण

सोमबार चैत्र ४ गते । बेनी नगरपालिका ९ गलेश्वरमा आइतबार सवारी चालकहरुको सडकमै स्वास्थ्य परिक्षण गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले बेनी अस्पतालको प्राबिधिक सहयोगमा सवारी चालकहरुको रक्तचाप र आँखा जाँच गरेको हो ।

दिउँसो ११ देखि २ बजेसम्म ६५ जना चालकहरुको स्वास्थ्य परिक्षण गरिएको ट्राफिक प्रहरी बैकुण्ठ पौडेलले बताउनुभयो ।

नौ जनामा उच्च रक्तचाप र एक जनामा न्यून दृष्टिको समस्या देखिएको थियो । खानपानमा ध्यान दिन, ब्यायाम गर्न र चिकित्सकको सल्लाह अनुसारको औषधी सेवन गर्न सुझाव दिइएको छ ।

ट्राफ्रिक हवल्दार ख्यामराज रोकाको नेतृत्वमा खटिएको टोलीमा बेनी अस्पतालका स्वास्थ्यकर्मी र जनपद प्रहरीको पनि सहभागिता थियो । सवारी रोकेर चालकहरुलाई स्वास्थ्य परिक्षण गर्न लगाइएको थियो ।

उनिहरुलाई स्वास्थ्य परिक्षण गर्दा हुने फाईदाको बारेमा जानकारी गराउनुका साथै पर्चा समेत वितरण गरिएको थियो । कतिपय अवस्थामा चालकको स्वास्थ्य अवस्था ठिक नभएका कारणले पनि दुर्घटना भएकाले स्वास्थ्य परिक्षण गर्ने कार्यक्रम चलाएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रत्येक महिनाको पहिलो आइतबारका दिन स्वास्थ्य परिक्षण गरिदै आएको छ । यसअघि दुई पटक चालकको स्वास्थ्य परिक्षण गरिसकिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार