नगरपालिकास्तरीय महिला सञ्जाल गठन, अध्यक्षमा भावना पौडेल चयन

बेनी बुधबार चैत्र २७ गते ।
म्याग्दीको बेनी नगरपालिकामा भावना पौडेल क्षत्रीको अध्यक्षतामा नगरस्तरीय आमा समूहको सञ्जाल गठन भएको छ । बेनी नगरपालिकाको आयोजनामा सोमबार सम्पन्न सञ्जाल गठन तथा अन्तत्र्रिmया कार्यक्रममा महिलाहरुको भेलाले पौडेलको अध्यक्षतामा महिला सञ्जालको गठन गरेको हो ।

सञ्जालको उपाध्यक्षमा हिरादेवी उपाध्याय, सचिवमा रश्मी बानियाँ खड्का, कोषाध्यक्षमा अस्मिता बानियाँ बोगटी र सहसचिवमा गीता रोका चयन भएका छन् । यसैगरी सदस्यहरुमा बबिता सापकोटा, ओममाया रानामगर, शान्ति पौडेल, पार्वती श्रेष्ठ र भुनु तिलिजा चयन भएको बेनी नगरपालिकाले जनाएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले विकास पूर्वाधारहरु पुरा गर्नका लागि सबै अग्रसर भएर लाग्नुपर्ने बताए । उनले बेनी नगरपालिकाले नगर क्षेत्रको शिक्षा, स्वास्थ्य, खानेपानीलगायत सुविधाहरु पु¥याउन जोड दिएको बताउँदै यसको कार्यान्वयनका लागि सबैले हातेमालो गर्नुपर्ने बताएका थिए । उनले नगर क्षेत्रको मुख्य आवश्यकताको पहिचान गरेर सोही अनुसार वडास्तरमा नीति, कार्यक्रम र बजेट बनाउनुपर्ने बताएका छन् ।

बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले गाउँगाउँमा रहेका आमा समूहलाई एकीकृत गर्नका लागि सञ्जालको अवधारणा ल्याइएको बताइन् । उनले महिलाहरुको व्यक्तित्व, नेतृत्व र क्षमताको विकास गर्न सञ्जाल गठन गरिएको बताउँदै समाज परिवर्तनका लागि सबै लाग्नुपर्ने बताएकी थिइन् । बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्माले आमा समूहको माध्यमबाट गाउँगाउँमा सामाजिक बिकृति, विसङ्गतिलाई अन्त्य गर्नुपर्नेमा जोड दिनुपर्ने बताए ।

बेनी नगर कार्यपालिका सदस्य दुर्गा कार्की बानियाँले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै महिलाहरुलाई उत्पादनसँग जोडेर उनीहरुको आयआर्जनमार्फत जीवनस्तरमा परिवर्तन ल्याउनुपर्ने आवश्यकता रहेकोमा जोड दिइन् । कार्यक्रममा वडा अध्यक्ष एवं बेनपाका प्रवक्ता रामकृष्ण बराईली, गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा म्याग्दीका अध्यक्ष हरिप्रसाद पौडेल र सिविन नेपाल म्याग्दीका प्रमुख वसन्त ढुङ्गानाले मन्तव्य राखेका थिए । कार्यक्रम नगर उपप्रमुख बरुवालको अध्यक्षता, नगर कार्यपालिका सदस्यद्वय गौरी थापामगरको सञ्चालन र गोरी दर्जीको स्वागतमा सम्पन्न भएको थियो ।

समुदायमा छरिएर रहेका महिलाहरु आबद्ध आमा समूहका संस्थालाई एकीकृत गर्न सञ्जाल निर्माण गर्ने अभियानको थालनी गरेर बेनी नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका विभिन्न आमा समूहका प्रतिनिधिहरुलाई वडास्तरीय सञ्जालमा आबद्ध गराएर एकीकृत गराउने प्रयास गरेको थियो । नगरपालिकाको विभिन्न वडा र गाउँगाउँमा क्रियाशिल आमा समूहहरुलाई अझै सक्रिय बनाउने उद्देश्यसहित पहिलो चरणमा वडास्तरमा महिला सञ्जाल गठन गरी महिलाहरुलाई आबद्ध गराइएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार