राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई ५५ जिल्लामा पु¥याइने मन्त्री थापाको भनाई (भिडियो )

प्रताप बानियाँ /म्याग्दी, शुक्रबार जेठ २४ गते । महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री थममाया थापाले राष्ट्रपति महिला उत्थान कार्यक्रमको क्षेत्र विस्तार गर्ने बताएकी छिन् । विभिन्न कार्यक्रमका लागि गृह जिल्ला म्याग्दी आएकी उनले शुक्रबार बिहान म्याग्दीका पत्रकारसँग भेटघाट गर्दै हाल ३० जिल्लामा सञ्चालित राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई आगामी वर्ष ५५ जिल्लामा पु¥याइने बताएकी हुन् ।

मन्त्री थापाले महिलालाई आत्मनिर्भर र आर्थिक सशक्तिकरण गर्नका लागि मन्त्रालयको तर्फदेखि राष्ट्रपति महिला उत्थान कार्यक्रमलगायत अन्य कार्यक्रमहरु सञ्चालन गरिएको बताइन् । उनले आम महिलाहरुलाई आत्मनिर्भर र उद्यमी बनाउन सरल कृषि कर्जाको व्यवस्था गरिएको भन्दै महिलाको व्यक्तित्व, नेतृत्व र क्षमता अभिवृद्धि हुने खालका कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिइएको बताइन् । महिलाको आयआर्जन वृद्धि गर्ने उद्देश्यसहित राष्ट्रपति महिला उत्थान कार्यक्रम सञ्चालन गरिएको उनले बताएकी छिन् ।

महिला, बालबालिका र ज्येष्ठनागरिकसँग सम्बन्धित कार्यक्रमहरु सञ्चालन गर्न स्थानीय तहहरुलाई जिम्मेवारी दिइएको बताउँदै मन्त्री थापाले ज्येष्ठनागरिकको हकअधिकारको हकहितको कार्यान्वयन गर्न बनेको ऐन २०६३ लाई संशोधन गरिएको जानकारी दिएकी छिन् । आगामी आर्थिक वर्ष युवा परिचालनको वर्ष भएको हुँदा युवाहरूले समूह बनाएर कृषि र पर्यटकीय विकासको ठोस योजनासहित आएमा सरकारले त्यसका लागि सस्तो व्याजदरमा ऋणको व्यवस्था गर्ने मन्त्री थापाको भनाइ छ ।

मन्त्री थापाले काम गर्नेगरी योजना पेश गरेमा बजेटको आकार बढ्ने बताउँदै ठोस कार्यक्रमसहित डिपिआर तयार गर्ने हो भने बजेट बढाउने मात्र नभई नयाँ बजेट समेत आउन सक्ने बताएकी थिइन् । उनले चिमखोला जाने सडक खन्न थालेको लामो समय भैसकेको भन्दै अब यसलाई सम्पन्न गर्नेगरी योजना बनिरहेको बताइन् । पहिला छुट्टिएको बजेट खर्च हुनुपर्ने र यसपछि मात्रै थप बजेटको व्यवस्था हुने बताउँदै मन्त्री थापाले म्याग्दी सदरमुकाम बेनीबजारसहित वस्ती तथा बजारको संरक्षणका लागि तटबन्धनका कार्यक्रमहरु आउने बताएकी छिन् ।

मन्त्री थापाले सरकारको पहिलो वर्ष सङ्घीयताको आधार तयार गर्ने वर्ष भएकाले ऐन, कानुन, नियमावली, कार्यविधि, निर्देशिका निर्माण र तिनको कार्यान्वयन गर्ने काम भएको बताइन् । उनले आगामी आर्थिक वर्षको बजेट समृद्धिको जग बसाउने गरी प्रस्तुत भएको दावी गर्दै समृद्ध नेपाल र सुखी नेपालीको उद्देश्य पुरा गर्नेगरी सोही अवधारणा अनुसार बजेट आएको बताइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार