मंगला गाउँपालिकाको ३५ करोड बढी बजेट पारित

सन्तोष गौतम/बेनी,सोमबार असार १६ गते । मंगला गाउँपालिकाको आइतबार बाबियाचौरमा सम्पन्न सातौ गाउँसभाले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि ३५ करोड तीन लाख छ सय रुपैयाँको बजेट पारित गरेको छ ।

असार ९ गते सुरु भएको गाउँसभामा उपाध्यक्ष सिर्जना केसीले चालुतर्फ २३ करोड सात लाख ६९२ र पूजीगततर्फ ११ करोड ९५ लाख ९९ हजार रुपैयाँ बजेट प्रस्ताव गर्नुभएको थियो । गाउँसभाका सदस्यहरुबीच छलफलपछि सर्वसम्मत रुपमा बजेट पारित भएको गाउँपालिकाका सूचना अधिकारी राजेन्द्र आचार्यले जानकारी दिनुभयो ।

बजेटका विषयमा गाउँसभाका सदस्यहरुले राखेका जिज्ञाशा र प्रश्नको अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष केसी र प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले जवाफ दिनुभएको थियो । गाउँसभामा वडा न. २ का अध्यक्ष धनबहादुर खाती क्षेत्रीले प्रस्तुत गर्नुभएको बिनियोजन बिधेयक–२०७६, आर्थिक बिधेयक–२०७६ पनि पारित भएको छ ।

गाउँसभाले वडा स्तरमा प्रदेश र संघीय सरकारका लागि प्रस्ताव गरिने आयोजनाहरु समेत छनौट गरेको छ । गाउँपालिकाको क्षमता, स्रोत र साधनले नसक्ने आयोजना सञ्चालनका लागि प्रदेश र संघीय सरकारसंग माग गरिने भएको छ ।

गाउँसभाको समापन गर्नुहुदै अध्यक्ष रोकाले बिनियोजन भएको बजेटको सदुपयोग, प्रभावकारी कार्यान्वयन, पारदर्शी र उपलब्धिमुलक बनाएर जनताले सुबिधा पाउने तथा विकासको अनुभव गर्ने बातावरण बनाउनका लागि कार्यान्वयनमा सबैको सक्रिय साथ र सहयोगको अपेक्षा व्यक्त गर्नुभयो ।

मंगलाले सडक, कृषि, पर्यटन क्षेत्रलाई प्राथमिकता दिएर बजेट, नीति तथा कार्यक्रम बनाएको छ । गाउँपालिकाको केन्द्र बाबियाचौर देखि वडा र बस्ती जोड्ने सडकलाई स्तरोन्नती गरि वातावरणमैत्री बनाउने र नियमित यातायात सेवा सञ्चालन गर्ने उद्देश्य राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार