जलजला गाउँपालिकाको ४३ करोड ३७ लाखको बजेट पारित

बेनी, मंगलबार असार २४ गते । जलजला गाउँपालिकाको आइतबार लामाखेतमा सम्पन्न छैटौ गाउँसभाबाट आगामी आर्थिक वर्ष २०७६/७७ का लागि ४३ करोड ३७ लाख ७५ हजार रुपैयाँको बजेट पारित भएको छ । गत असार ११ गते गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएपछि उपाध्यक्ष सिमा गर्बुजा पुनले बजेट प्रस्तुत गर्नुभएको थियो ।

उपाध्यक्ष पुनले विकास आयोजना तथा कार्यक्रममा खर्च हुने पँुजीगत शीर्षकमा १४ करोड ६७ लाख ७५ हजार र कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी, जनप्रतिनिधिको तलबभत्ता, सामाजिक सुरक्षा भत्ता र प्रशासनिक क्षेत्रमा खर्च हुने चालु शीर्षकतर्फ २९ करोड ३० लाख रुपैयाँ बजेट प्रस्तुत गर्नुभएको थियो ।

प्रस्तुत बजेट सभाले सर्वसम्मत रुपमा पारित गरेको गाउँ कार्यपालिकाका प्रवत्ता देवेन्द्र भण्डारी (रवी)ले जानकारी दिनुभयो । प्रवत्ता भण्डारीका अनुसार गाउँसभाले आर्थिक, राजस्व र उद्योग कलकारखाना सम्बन्धी बिधेयक पारित गरेको छ ।गाउँपालिकाको केन्द्र देखि वडा कार्यालय जोड्ने सडक कालोपत्रे र ढलान गर्ने नीति लिएको जलजलाले सडकतर्फ सबैभन्दा बढी छ करोड रुपैयाँ बिनियोजन गरेको छ । यसैगरी भवन तथा सहरी विकासतर्फ एक करोड ९९ लाख पचहत्तर हजार रुपैयाँ बिनियोजन भएको छ ।

खानेपानी तथा सरसफाईमा ८१ लाख, कृषिमा ५४ लाख, पशु विकासमा ३८ लाख, शिक्षामा ५१ लख, सिचाईमा ५३ लाख, सामाजिक समावेशीकरणतर्फ ५८ लाख, विपद् व्यवस्थापनमा दश लाख पर्यटन विकासमा ३५ लाख पचास हजार बिनियोजन भएको छ ।वित्तीय समानीकरण नौ करोड १७ लाख, राजस्व बाँडफाँड छ करोड ५३ लाख, सशर्त अनुदान १६ करोड आठ लाख, सामाजिक सुरक्षा भत्ता छ करोड ५० लाख, तीन करोड आन्तरिक आयस्रोत, प्रदेशको वित्तिय समानीकरण अनुदान एक करोड २१ लख ५१ हजार, राजस्व बाँडबाडतर्फ २९ लाख ३५ हजार र समपुरक अनुदान एक करोड रुपैयाँ आय हुने अनुमान गरिएको छ ।

पूर्वाधारतर्फ सडक, कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, शिक्षा र स्वास्थ्यको गुणस्तर सुधार, सार्वजनिक सेवा प्रवाहलाई सहज बनाउन प्राथमिकता दिएको अध्यक्ष मल्लले बताउनुभयो । नीति तथा कार्यक्रम र बजेट पारित भएपछि कार्यान्वयनको कानुनी बाटो खुलेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार