सुरक्षित गर्भपतन सेवा सुदृढीकरणसम्बन्धी अभिमुखीकरण

म्याग्दी ,विहिबार साउन ०९ गते ।‘सुरक्षित गर्भपतन सेवाः महिलाको प्रजनन अधिकार हो’ भन्ने मूल नारासहित स्वास्थ्य संस्थास्तरीय होलसाइड अभिमुखीकरण सम्पन्न भएको छ । बेनी नगरपालिका स्वास्थ्य शाखाको आयोजना र आईपास नेपाल तथा स्वास्थ्य कार्यालय म्याग्दीको सहयोगमा पुलाचौर स्वास्थ्यचौकीमा कार्यक्रम गरिएको हो ।

सुरक्षित गर्भपतन सेवाको सुदृढीकरणका लागि कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएका छन् । कार्यक्रमको उद्घाटन गर्दै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले स्थानीय तह कार्यान्वयनपछि बेनी नगरपालिकाको पुलाचौरमा पहिलोपटक सुरक्षित गर्भपतन सेवा सञ्चालनको तयारी गरिएको बताइन् । उनले नगरपालिकाबाट जनताको स्वास्थ्यमा सुधार ल्याउने गरी आवश्यक कार्यक्रमहरु पनि सञ्चालन गरिने बताएकी छिन् ।

कार्यक्रममा बोल्दै बेनी नगरपालिकाका स्वास्थ्य संयोजक लिला गौतमले गर्भपतन गर्नुपर्ने अवस्था आएको खण्डमा सुचीकृत स्वास्थ्य संस्थाबाट मात्रै सुरक्षित रुपमा गर्भपतनको सेवा लिनुपर्ने बताएकी थिइन् । कार्यक्रममा स्वास्थ्य संयोजक गौतम र आईपास नेपालका गण्डकी प्रदेश संयोजक थमकुमारी कुँवरले सुरक्षित गर्भपतन सेवासम्बन्धी विषयमा सहजीकरण गरेका थिए ।

कार्यक्रमको अवसरमा पुलाचौर स्वास्थ्यचौकीको कार्ययोजना समेत निर्माण गरिएको छ । कार्ययोजना अनुसार स्वास्थ्यचौकीमा ह्वीलचियरको व्यवस्थापन, नागरिक बडापत्र राख्ने, संस्थाको बोर्ड परिवर्तन र सुरक्षित गर्भपतनको सेवा रहेकोसम्बन्धी सूचना टाँस्ने जस्ता योजनाहरु बनाइएको छ । अब छिट्टै पुलाचौर स्वास्थ्यचौकीमा पनि ९ हप्तासम्मको गर्भपतनको सेवा उपलब्ध गराउनका लागि आवश्यक तयारी थालिएको छ ।

स्वास्थ्यचौकी व्यवस्थापन समितिका उपाध्यक्ष एवं वडा सदस्य रामप्रसाद सुवेदीको अध्यक्षता, स्वास्थ्यचौकी इन्चार्ज रामप्रसाद शर्माको सञ्चालन र अनमी अमृता सुनारको स्वागतमा सम्पन्न कार्यक्रममा पुलाचौरस्थित विभिन्न संघसंस्थाबाट सरोकारवालाको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार