धौलागिरी गाउँपालिकामा बालबिवाह न्युनीकरणको पहल

सन्तोष गौतम/गोपाल आचार्य
ताकम,सोमबार साउन १३ गते । बालबिवाह न्यूनीकरणका लागि म्याग्दीको धवलागिरी गाउँपालिका¬ — ७ शिवाङमा आइतबार बालकचहरी सम्पन्न भएको छ ।

धवलागिरी गाउँपालिका, गुड नेवर्स इन्टरनेशनल, कदम र संगम म्याग्दीको आयोजनामा भएका सो कार्यक्रममा बालबिवाहको अवस्था, कारण र समाजमा देखिएका असर तथा न्युनीकरणका उपायका सम्बन्धमा छलफल भएको थियो ।

कार्यक्रममा सहभागी जनप्रतिनिधि, सुरक्षा अधिकारी, विद्यालय व्यवस्थापन समितिका पदाधीकारी, शिक्षक, अगुवा र बाल क्लवका प्रतिनिधिहरुले धवलागिरी गाउँपालिकालाई बालबिवाहमुक्त बनाउने प्रतिवद्धता जनाएका छन् ।

चेतना, शिक्षाको कमी, घरमा उचित वातावरण नहुनु, गरिबी, प्रबिधिको दुरुपयोग, प्रेमसम्बन्ध, खराब संगतका कारण बालबिवाह प्रमुख सामाजिक समस्या बनेको छ । बालबिवाहको कारण मातृ शिशू मृत्युदर, महिलाको स्वास्थ्य, शिक्षा र संवेगात्मक विकासमा असर, गरिबी, बहुबिवाह, सम्बन्ध बिच्छेद, घरेलु हिंसा जस्ता समस्या उत्पन्न भएको छ ।

गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बालबिवाह न्युनीकरण गर्न अभियान सुरु गरेको जानकारी गराउँदै यसमा समाजका सबै क्षेत्रबाट सहयोगको अपेक्षा व्यक्त गर्नुभयो । बालबिवाहले सामाजिक, शैक्षिक, सांस्कृतिक, स्वास्थ्य, आर्थिक क्षेत्रमा ठूलो असर गरेकाले यसलाई हटाउनु सबैको दायीत्व हुने बताउनुभयो ।

उमेर सान्दर्भिक बिवाहसंग उपाध्यक्ष, सुनौला हजार दिनका आमासंग अध्यक्ष जस्ता कार्यक्रम मार्फत बालबिवाह न्युनीकरण, मातृ शिशू स्वास्थ्य र पोषण सुधारमा जोड दिएको बताउनुभयो ।
उपाध्यक्ष रेशम छन्त्यालले बालबिवाह न्युनीकरणका लागि पहिलो चरणमा सचेत बनाइएको र अब अटेरी गरेमा कानुनी व्यवस्थाको कडाइका साथ कार्यान्वयनमा लगिने चेतावनी दिनुभयो । कानुनले अपराध मानेको बालबिवाह नियन्त्रण गर्नु स्थानीय सरकारको दायीत्व भएकाले यसलाई महत्व दिएको उहाँको भनाई थियो ।

२० वर्ष भन्दा अघि बिवाह गरेकालाई सम्झाई बुझाई गरेर अलग्याउने नीति लिएको बताउदै मुद्दा समेत दर्ता गर्न सकिने बताउनुभयो । कार्यक्रमको सहजिकरण गर्दै सिवीन म्याग्दीका संयोजक बसन्त ढु¨ानाले २० वर्ष अघि बिवाह गर्नेलाई तीन वर्षसम्म कैद र १५ हजारसम्म जरिवाना हुने जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरिक्षक रामप्रसाद पाण्डेले बालबिवाह हुन लागेको सूचना प्रहरीलाई गर्न आग्रह गर्नुभयो । बालबिवाहको साथै शारिरिक सम्पर्क भएको अवस्थामा बलात्कारको समेत मुद्दा चलाउन मिल्ने प्रहरी निरिक्षक पाण्डेको भनाई थियो ।

गाउँपालिकाको शिक्षा शाखाका संयोजक गिरीप्रसाद छन्त्यालले बालबिवाह न्युनीकरणका लागि विद्यालयमा गठन भएका बाल क्लव मार्फत सडक नाटक प्रर्दशनीका साथै बालबिवाह गर्नेहरुलाई अलग्याइएको बताउनुभयो ।

हेम माविको बाल क्लवकी अध्यक्ष चन्द्रकुमारी गोतामेको अध्यक्षता, संगम म्याग्दीका शिक्षा विकास अधिकृत चन्द्रप्रकाश बुढाको सञ्चालनमा सम्पन्न कार्यक्रममा म्याग्दी सामुदायिक विकास परियोजनाका संयोजक दोर्ण जिसीले स्वागत गर्नुभएको थियो ।

धनजनता माविको बाल क्लवका अध्यक्ष प्रकाश पुनले बाल क्लवहरुलाई जनचेतनामुलक कार्यक्रम गन बजेटको व्यवस्थापन गरिदिन आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार