पाँच वटा वडा एक जना सचिवको भरमा

दुर्गम भएकैले भोटखोला गाविसमा कर्मचारी जान मान्दैनन् । गए पनि काज वा सरुवा मिलाएर हिँडिहाल्छन् ।

संखुवासभा,शनिबार साउन १८ गते । भोटखोला गाउँपालिकामा पाँचवटा वडा छन् । एउटा वडाबाट अर्कोमा पुग्न दुई दिनसम्म लाग्छ । तर, यी सबै वडा हेर्न जम्मा एक जना सचिव छन् । पर्याप्त वडा सचिव नहुँदा स्थानीय तहले प्रदान गर्ने सेवा प्रभावकारी हुन सकेको छैन ।

‘सिंगो गाउँपालिकामा एक जना मात्रै वडा सचिव हुँदा हैरानी छ,’ हटियाका थुदोक भोटेले भने, ‘काम लिन समस्या भयो, एक जना वडा सचिवले सबैतिरको काम गर्न भ्याउँदैनन्। मार हामीले खेपिरहेका छौं।’

वडा सचिव दाबा लामा एक्लैले सबै वडा हेर्नुपर्दा समयमा काम नभएर सेवाग्राही मर्कामा परिरहेको स्विकार्छन्। भोटखोला जिल्लाको दुर्गम मानिन्छ। गाउँपालिका केन्द्र पुग्न २ दिन हिँड्नुपर्छ। ‘दरबन्दीअनुसारका कर्मचारी नहुँदा समस्या छ,’ दावाले भने, ‘कर्मचारी कोही भोटखोला आउन मान्दैनन्। यो गाउँपालिकामा कुल दरबन्दी २७ जना छ तर पाँच जना अस्थायी कर्मचारीबाट काम चलाइरहनुपरेको छ।’

गाउँपालिकाका अध्यक्ष तेम्बा भोटे पटकपटक केन्द्रसम्म धाउँदा पनि कर्मचारी नआएको बताउँछन्। ‘भोटखोला गाउँपालिका दुर्गम भएको कारणले नै कर्मचारी आउन मान्दैनन्,’ उनले भने, ‘मन्त्रालयले सरुवा गरेर पठाए पनि बाध्यतामा एकरदुई महिना बस्छन् अनि तत्काल सरुवा वा काज मिलाएर गइहाल्छन्।’ भएका कर्मचारी टिकाउन गाउँपालिकाले थप चार हजार दुर्गम भत्ता दिने निर्णय गरेको छ।

सडक सञ्जालले नछोएको भोटखोलाका ५ वटै वडा हिँडेर पुग्नुपर्छ। सबै वडा कार्यालय पुगेर सेवा दिन ज्यादै कठिन हुने सचिव लामाले बताए। ‘हरेक वडामा महिनामा तीनरचार दिनमा एकपटक सेवा दिन पुग्छु,’ उनले भने, ‘दैनिक सबै वडा पुग्न सकिँदैन।’

भोटखोलाको थुदामबाट वडा नम्बर २ को कार्यालय च्याम्ताङ आउन करिब तीन दिन लाग्छ। वडा कार्यालय पुगे पनि दैनिक रूपमा सेवा दिन नसक्दा स्थानीयले हैरानी खेप्नुपरेको छ। भोटखोलामा करिब ६ हजार ५ सय ७६ जनसंख्या छ। सडक, विद्युत् र सञ्चारसमेत छैन। दक्ष जनशक्ति र सञ्चारसमेत नहुँदा सेवा प्रभावकारी हुन नसकेको कर्मचारी बताउँछन्।

भोटखोलामा अहिले प्रमुख प्रशासकीय अधिकृत, सहलेखापाल, नायब सुब्बा ९वडा सचिव र कृषि शाखा प्रमुख०, खरिदार, खानेपानी सरसफाइ प्राविधिक छन्। कर्मचारी समायोजनपछि पनि दरबन्दीअनुसार खटिएकाहरू आएका छैनन्। ‘स्थायी दरबन्दीका ३ जना कर्मचारीबाट सेवा दिनुपरेको छ,’ अध्यक्ष भोटेले भने, ‘केही कर्मचारी करारमा नियुक्त गरेर चलाइरहेका छौं।’ कान्तिपुर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार