रत्नेचौरमा पितृ महोत्सव

रत्नेचौर, शुक्रबार भदौ २७ गते । बेनी नगरपालिका १ रत्नेचौरमा परम वैदिक सनातन धार्मिक आश्रमको आयोजनामा शुक्रबारदेखि विश्वशान्ति पितृमुक्ति षोडश श्राद्धात्मक श्रीमदभागवत महापुराण ज्ञान महायज्ञ तथा पितृ महोत्सव सुरु भएको छ ।

श्रीलक्ष्मीहरि मन्दिरको धार्मिक पर्यटन विकासका साथै पितृ उद्धारका लागि भक्तजनहरुको सुबिधाका लागि आयोजित महोत्सव सोह् श्राद्ध तिथी अवधिभर चल्नेछ । महोत्सवको प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले उद्घाटन गर्नुभयो ।

सांसद थापाले श्रीहरि मन्दिरको ऐतिहाँसिक तथा धार्मिक महत्वको बारेमा प्रचारप्रसार तथा पूर्वाधार तयार पारेर धार्मिक स्थलको रुपमा विकास गर्न सकिने सम्भावना रहेको बताउनुभयो । मन्दिरको विकासमा आफूले बजेटको व्यवस्थाका लागि पहल गर्ने र त्यसको सदुपयोग तथा परिचालनमा समुदायले सक्रियता जनाउनुपर्ने बताउनुभयो ।

श्रीलक्ष्मीहरि मन्दिरका संरक्षक जीयर स्वामी, ब्यासाचार्य श्रीनारायणाचार्य, डाक्टर चक्रपाणी आचार्य (रेग्मी)को प्रवचन हुने महोत्सवमा यतिराजस्वामी हिमालय वावा र ऋषि प्रपन्नाचार्य स्वामीजीको समेत उपस्थिति हुने आयोजकले जनाएका छन् ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, स्वामी चक्रपाणाी रेग्मी, जनमुक्ति पार्टीका जिल्ला अध्यक्ष तिलकबहादुर थापा, भानु माविका निमित्त प्रअ गोविन्द रिजालले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

मुल आयोजक समितिका अध्यक्ष नेत्रबहादुर महतको अध्यक्षता, चिरञ्जिवी बोगटीको सञ्चालन र वडा अध्यक्ष तथा समितिका उपाध्यक्ष टेकबहादुर रावलको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

महोत्सव सुरुहुनअघि कलशयात्राले रत्नेचौरको विभिन्न भाग परिक्रमा गरेर श्रीहरिलक्ष्मी मन्दिर पुगेको थियो । सो कार्यक्रममा गण्डकी प्रदेशमा सांसद बिनोद केसी, जिसस प्रमुख देवेन्द्र केसी, सदस्य शेरबहादुर केसी, राजनितिक पार्टीका प्रतिनिधि र जनप्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको आतिथ्यता थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार