बेनपामा सञ्चालित स्वास्थ्यका कार्यक्रमहरुको समीक्षा

प्रताप बानियाँ
म्याग्दी, विहिबार असोज २ गते ।
म्याग्दीको सदरमुकाम बेनीमा बिहीबार वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ । बेनी नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा गत आर्थिक वर्ष २०७५÷७६ मा नगर क्षेत्रमा सञ्चालित स्वास्थ्यसम्बन्धी कार्यक्रमहरुको समीक्षा गरिएको हो ।

बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा भएको समीक्षा गोष्ठीमा नगरपालिकास्तरीय कार्यक्रमको बारेमा स्वास्थ्य संयोजक लिला गौतमले सहजीकरण गरेकी थिइन् । उनका अनुसार गत वर्षमा बेनी नगरपालिकामा कुल छ करोड ४१ लाख चारहजार रुपैयाँ बराबरको विभिन्न कार्यक्रम तथा स्वास्थ्य शिविरहरु सञ्चालन गरिएको छ ।

समीक्षा गोष्ठीमा स्वास्थ्य संयोजक गौतमले बेनी नगरपालिकामा मानव संशाधनको अवस्था, बेनी नगरपालिकाको नीतिगत दस्तावेज तथा समितिहरुको अवस्था, एचएमआईएस प्रतिवेदनको अवस्था, खोप तथा पोषण कार्यक्रम, सुरक्षित मातृत्व, सामुदायिक सेवा, रोग नियन्त्रण, उपचारात्मक सेवा, वित्तीय प्रगतिको अवस्था र बेनपामा कार्यरत साझेदार संस्था, बेनपाको पहलमा गरिएका कार्यहरु र समस्याहरुको बारेमा जानकारी गराएकी छिन् ।

बेनी नगरपालिकामा ७ ओटा स्वास्थ्यचौकीहरु रहेका छन्भने ४ ओटा सामुदायिक तथा शहरी स्वास्थ्य इकाई, बर्थिङ सेन्टर ५, खोप क्लिनीक २५, गाउँघर क्लिनीक १३ र क्षयरोग डट्स सेन्टर ७ वटा रहेका छन् । यसैगरी बेनी नगरपालिकाभित्र महिला स्वयंसेविका ७२ जना कार्यरत छन् । गतवर्ष बेनी नगरपालिकाको विभिन्न ठाउँमा विशेषज्ञ डाक्टरको उपस्थितिमा बृहत तथा निःशुल्क स्वास्थ्य शिविरहरु सञ्चालन गरिएको थियो ।

समीक्षा कार्यक्रममा नगरपालिका अन्तर्गत रहेका वडाका स्वास्थ्यचौकी इन्चार्जहरुले आ–आफ्नो स्वास्थ्य संस्थाबाट भएका प्रगतिका बारेमा प्रस्तुतीकरण गरेका थिए । कार्यक्रम स्वास्थ्य संयोजक गौतमको सञ्चालन र सहसंयोजक सोमनाथ उपाध्यायको स्वागतमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार