घटस्थापनाको सार्वजनिक विदा दिन माग (ज्ञापनपत्रसहित)

प्रताप बानियाँ
म्याग्दी,सोमबार असोज ६ गते –
क्षत्री समाज नेपाल जिल्ला कार्यसमिति म्याग्दीले घटस्थापनाको दिन सार्वजनिक विदा दिन माग गरेको छ । समाजले सोमबार म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालमार्फत गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ज्ञापनपत्र पठाउँदै विदा दिन माग गरेको हो ।

‘राष्ट्रिय अखण्डता र जातीय सद्भावका निम्ती क्षत्री एकता, आजको आवश्यकता’ भन्ने मूल नारासहित समाजको प्रदेशस्तरीय कार्यक्रम अन्तर्गत ज्ञापनपत्र बुझाइएको क्षत्री समाज म्याग्दीले जनाएको छ । ८१ प्रतिशत हिन्दु र १३ प्रतिशत ओमकार परिवारसहित ९४ प्रतिशत नेपालीहरुको आस्थाको पर्व घटस्थापना नेपालको मौलिक एवं साझा पर्वका रुपमा मनाउने गरिएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

क्षत्री समाज म्याग्दीका अध्यक्ष वीरबहादुर थापा र सचिव देवेन्द्र घिमिरेद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा सबै नेपालीहरुको साझा पर्व भएकाले घटस्थापनाको दिनमा सार्वजनिक विदा दिनका लागि जोड दिइएको छ । उक्त ज्ञापनपत्र अध्यक्ष थापाले प्रजिअ ढकाललाई हस्तान्तरण गरेका थिए ।

ज्ञापनपत्र बुझ्दै प्रजिअ ढकालले ज्ञापनपत्रलाई तत्कालै सम्बन्धित निकायमा पठाउने जानकारी दिए । ज्ञापनपत्र क्षत्री समाजका सचिव घिमिरेले वाचन गरेर सुनाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार