पश्चिम दरबाङ सहकारीको १२औं साधारणसभा

प्रताप बानियाँ
बेनी ,आइतबार कात्तिक २४ गते ।

पश्चिम दरबाङ बचत तथा ऋण सहकारी संस्था लिमिटेड म्याग्दीको शनिबार १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कुल २ हजार ७ सय १० जना शेयर सदस्य रहेको सहकारीले छ करोड ३६ लाख ५९ हजार शेयर पुँजी, ३३ करोड सात लाख ३१ हजार एकसय रुपैयाँ बचत र ३४ करोड सातलाख ८४ हजार सातसय एक रुपैयाँ कर्जा लगानी गरेको छ ।

साधारणसभाको उद्घाटन गर्दै मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले अन्य सहकारीहरु ग्रामीण क्षेत्र प्रवेश गर्ने क्रममा रहेपनि पश्चिम दरबाङ सहकारीचाहीँ सहरकेन्द्रीत भएको हुँदा विदेशिने युवाहरुलाई स्वदेशमै रोजगारको सिर्जना गर्न उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताए । मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले सहकारीले आर्थिक कारोबार सँगसँगै समाज परिवर्तन र रुपान्तरणका लागि सचेतनामूलक कार्यक्रमहरु गर्नुपर्ने बताइन् ।

साधारणसभामा सहकारीको इतिहाँस समेटिएको स्मारिका ‘सफल पाइला’को गाउँपालिकाका अध्यक्ष रोका र सहकारीका अध्यक्ष सुरेन्द्रराज शर्माले विमोचन गरेका थिए । साधारणसभामा संस्थाका सचिव हरिप्रसाद पौडेलले प्रगति र कोषाध्यक्ष कृष्ण आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभाको उद्घाटनसत्रमा धौलागिरि बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष चन्द्रकुमार केसी, मालिका गाउँपालिका–६, दरबाङका वडा अध्यक्ष सन्तोष सुवेदी, पूर्व अध्यक्षहरु मोतिराज गौतम र अमृता भण्डारीले मन्तव्य राखेका थिए ।

साधारणसभाको अवसरमा संस्थाका प्रबन्धक प्रेमलाल कँडेल, सिनियर कर्मचारी सन्तोष शर्मालाई संस्था एकीकरणमा योगदान गरेवापत र बेनी शाखाकी लोकमाया थजालीलाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान तथा पुरस्कृत गरिएको थियो । यसैगरी दिलसुन्दर अधिकारी, वुद्धिबहादुर जुग्जाली र गंगा बुढालाई उत्कृष्ट कारोबारकर्ता, संस्थाका पूर्व अध्यक्ष र सञ्चालकहरुलाई सम्मान गरिएको थियो । त्यस्तै शेयर सदस्य चन्द्रकुमार केसीलाई अङ्गदान गरेर मानवीय सेवाको नमुना प्रस्तुत गरेकोमा नगद पाँचहजार एकसय रुपैयाँसहित सम्मान गरिएको छ ।

साधारणसभाबाट मंगला–२, बाबियाचौरको प्रभु बचत तथा ऋण र अन्नपूर्णको शिख बहुउद्देश्यीय सहकारी संस्था औपचारिक रुपमा पश्चिम दरबाङमा गाभिएका छन् । साधारणसभाले गाभिएको सहकारीबाट मोतीलाल पौडेल र भीमप्रसाद आचार्यलाई सञ्चालक समितिको सदस्यमा चयन गरेको छ । साधारणसभाको उद्घाटनसत्र सहकारीका अध्यक्ष सुरेन्द्रराज शर्माको अध्यक्षता, उपाध्यक्ष भीमप्रसाद गौतमको स्वागत र सचिव हरिप्रसाद पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार