गलकोटमा पर्यटन प्रवर्दन गर्न मंसिरमा दोस्रो गलकोट घुम्टे महोत्सव हुँदै

थम्मन थापा
बागलुङ, सोमबार कात्तिक २५ गते ।

गलकोट आफैमा प्राकृतिक सांस्कृतिक एवं ऐतिहाँसिक महत्व बोकेको क्षेत्र हो । यहाँ विभिन्न प्राकृतिक मनोरम स्थल, धार्मिक स्थलहरु पर्याप्त छन । पछिल्लो समय गलकोट क्षेत्रलाई पर्यटन प्रवर्दन गरि गलकोटमा आन्तरिक तथा बाह्य पर्यटक भित्राउन विभिन्न गतिविधिहरु भईरहेका छन । गलकोट घुम्टे पर्यटन विकास केन्द्रले बागलुङको गलकोट क्षेत्रलाई पर्यटकीय हबका रूपमा विकास गर्ने उद्देश्यले आगामी मंसिरमा ‘गलकोट घुम्टे महोत्सव’ आयोजना गरेको छ । केन्द्रले आगामी मंसिर ४ गतेदेखि ११ गतेसम्म दोस्रो गलकोट घुम्टे महोत्सव गर्न लागेको हो ।

महोत्सवमा गलकोट क्षेत्रको मौलिकता झल्काउने र कला, संस्कृति, खेलकुद एवं कृषि–उपजको प्रदर्शनी सहित पर्यटकलाई आकर्षित गर्ने गरी मौलिक कार्यक्रमका रूपमा १३ वर्षपछि दोस्रो गलकोट घुम्टे महोत्सव गर्न लागिएको गलकोट घुम्टे पर्यटन विकास केन्द्रका वरिष्ठ उपाध्यक्ष राज बहादुर थापाले जानकारी दिनुभयो । थापाका अनुसार गलकोटका पर्यटकीय स्थलहरु र कला संस्कृतिलाई ब्यापक प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने महोत्सवको मुख्य लक्ष्य रहेको छ । नेपाल सरकारले घोषणा गरेको आन्तरिक पर्यटन वर्ष सन् २०१९ र नेपाल पर्यटन भ्रमण वर्ष २०२० लाई सफल पार्न महोत्सवले सहयोग पुर्‍याउने महोत्सव आयोजक संस्था गलकोट घुम्टे पर्यटन विकास केन्द्र बागलुङका अध्यक्ष झङ्क बहादुर बस्नेतले जानकारी दिनुभयो ।

जिल्लाको गलकोट क्षेत्र भनेर चिनिने गलकोट नगरपालिका, ताराखोला गाउँपालिका र बडिगाड गाउँपालिकाका ३ र ८ नम्बर वडालाई पर्यटकीय क्षेत्रको रूपमा अगाडि बढाउन महोत्सवको आयोजना गरिएको केन्द्रका सचिव शेर बहादुर थापाले बताए । महोत्सवमा गलकोट क्षेत्रमा रहेका पर्यटकीय स्थलहरू घुम्टे धुरी, गलकोट दरबार, गाईघाट झरना, गुफा, उदय रिघा बुद्ध–बिहार, टेउवा, हटिया सहस्र धारा, पाण्डवखानी, निलुवा, मल्म राम्चे ढुङ्गा, नाच्ने डाँडाको विशेष प्रचारप्रसार गरिने उनको भनाई छ । त्यस्तै स्थानिय कला संस्कृति झल्कने गलकोट क्षेत्रको संस्कृतिका रूपमा रहेको भुस पोल्ने मेला, सिस्नो खोस्ने मेला, घाटु नाच, साराङ नाच, सोरठी, मारुनी नाच, लाखे नाच तथा भजन किर्तनलाई महोत्सवमा विशेष प्रस्तुतिका रूपमा राखिने आयोजकले जनाएको छ । महोत्सवको आकर्षणको रूपमा राष्ट्रिय खेल भलिबल, ब्याडमिन्टन, लोकदोहोरी तथा सांस्कृतिक प्रदर्शनी रहने छन ।

गलकोट क्षेत्रको उत्पादन ताराखोलाको आलु र दरमखोलाको असला माछा, रातो च्याउ लगायत खाद्यान्न पनि बिक्री गरिने आयोजकले जानकारी दिएको छ । महोत्सव अवधिभर राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरु, हाँस्य कलाकारहरुको बेजोड सांगितिक तथा हाँस्य प्रस्तुति रहने बताईएको छ । महोत्सवमा ‘टाइटल स्पोन्सर’ प्रभु ग्रुपले गर्ने घोषणा गरेको केन्द्रका सचिवालय सदस्य मिलन केसीले जानकारी दिए ।

झण्डै १ करोड ४५ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिइएको महोत्सवमा १ करोड रुपैयाँ खर्च लाग्ने र बचेको ४५ लाख रुपैयाँले गलकोटका पर्यटकीय क्षेत्रको विकासका लागि गुरुयोजना बनाएर काम गरिने महोत्सव सचिवालय समिति सदस्य तथा आर्थिक व्यवस्थापन समिति संयोजक मञ्जु शर्मा चालिसेले जानकारी दिनुभयो । गलकोट क्षेत्रमा रहेका पर्यटकीय गन्तव्यको प्रचारप्रसार गरी पर्यटक भित्र्याउने लक्ष्यका साथ आयोजना गरिएको महोत्सवको अहिले आन्तरिक तयारी तिव्र पारिएको छ । मेला सञ्चालन गर्न आर्थिक व्यवस्थापनका लागि केन्द्रको टोली अहिले देशका विभिन्न स्थानमा छलफल अन्तरकृया तथा आर्थिक अभियानमा सकृय रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार